सल्यानका १० स्थानीय तहको बेरुजु १५ करोड

जेष्ठ २, २०८२

विप्लव महर्जन

15 million worth of Salyan's 10 local levels

सल्यान — आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका १० स्थानीय तहको बेरुजु १५ करोड रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सल्यानका १० स्थानीय तहको बेरुजु १५ करोड देखिएको हो।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु शारदा नगरपालिकाको रहेको छ। प्रतिवेदनअनुसार शारदा नगरपालिकाको ४ करोड २० लाख ८२ हजार, बागचौर नगरपालिकाको २ करोड ७५ लाख, बन्गाड कुपिण्डे नगरपालिकाको ६३ लाख ५३ हजार, कपुरकोटको १ करोड ६४ लाख ६६ हजार, कालिमाटीको ७८ लाख १७ हजार, कुमाखको १ करोड २७ लाख ९८ हजार, छत्रेश्वरीको ७८ लाख ५० हजार, सिद्धकुमाखको १ करोड ४२ लाख ६१ हजार, दार्माको ९९ लाख ५६ हजार र त्रिवेणी गाउँपालिकाको ५२ लाख ४५ हजार बेरुजु रहेको उल्लेख छ।

प्रत्येक वर्ष ११ करोडसम्मको बेरुजु देखिँदै आएकोमा आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका १० स्थानीय तहको बेरुजु विगतको तुलनामा झन् बढेको हो। स्थानीय तहले खर्च गरेका रकम कानुनअनुसार नभएको, लेखा परीक्षकको मान्यता अनुसार नभएको, स्पष्ट विवरण र प्रमाणपत्र नदेखिएको मात्र नभई योजना, ठेक्का, बिल भरपाई तथा खरिद प्रक्रियामा ध्यान नदिँदा प्रत्येक वर्ष घट्नेभन्दा बेरुजु बढेको देखिएको हो।

काम गरिए पनि केही प्रक्रियाअनुसार कागजात नपुगेकाले महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको शारदा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत ओमप्रसाद देवकोटाले बताए। कागजात पेस गरेपछि बेरुजु स्वतः घट्ने जानकारी उनले गराएका छन्। उनका अनुसार नगरपालिकाले बेरुजु कम गर्न आन्तरिक लेखा परीक्षण कार्यविधि निर्माण, सार्वजनिक लेखा समिति गठनलगायतका कामहरू गरिरहेको छ।

केही कागजात नपुगेकाले बेरुजु देखिएको र त्यो सैद्धान्तिक मात्र भएको तथा कागजी प्रक्रिया पुगेपछि बेरुजु नरहने बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृत हरिबहादुर कठायतले जनाए। पालिकाले बेरुजु घटाउन प्रयासरत रहे पनि साना त्रुटिका कारण यसलाई शून्यमा झार्न कठिनाइ भएको उनले जनाएका छन्।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत खुमबहादुर केसीले नियमअनुसार काम गरेकाले बेरुजु घटाउन सफल भएको जनाएका छन्। आगामी दिनमा बेरुजु शून्यमा झार्ने योजना रहेको उनले बताएका छन्।

खर्चमा पारदर्शिता तथा जवाफदेहिता नदेखिँदा विगतमा पालिकाको २ करोडभन्दा बढी बेरुजु देखिएकोमा कानुन र नियमअनुसार काम गरेकै कारण आर्थिक वर्ष २०८०/०८१ मा बेरुजु घटाउन सफल भएको बन्गाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले जनाएका छन्। कुशल नेतृत्वकै कारण बेरुजु पहिलाको तुलनामा घटाउन सकेको र यसलाई शून्यमा झार्ने प्रयास भइरहेको जानकारी उनले दिएका छन्।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully