छतबाट खसेर मजदुरको मृत्यु 

जेष्ठ १, २०८२

विप्लव महर्जन

A worker died after falling from the roof

सल्यान — घरको छत ढलान गर्ने क्रममा खसेर सल्यानमा एक मजदुरको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरमा जितबहादुर भण्डारीको घरको छत ढलान गर्ने क्रममा खसेर शारदा-२ भगवती खोला घर भएका ४५ वर्षीय रिमबहादुर बस्नेतको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार तीनतले घरको छत ढलान गर्नेक्रममा बस्नेत खसेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनको जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । 

‘छतबाट खसेपछि उपस्थित भएका सबैले तत्काल उद्धार गरेर उपचारका लागि बस्नेतलाई जिल्ला अस्पताल सल्यान पुर्‍याएका थिए । अस्पताल पुर्‍याएपछि जाँच गर्दा डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए,’  उनले भने ।

सव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक बस्नेतले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully