हिमा बालविवाहमुक्त

वैशाख ३०, २०८२

डीबी बुढा

Hima child marriage free

जुम्ला — जुम्लाको हिमा गाउँपालिका बालविवाहमुक्त घोषणा भएको छ । हिमा-६ लाई बालविवाहमुक्त वडा घोषणागरेसँगै सबै वडा बालविवाहमुक्त भएका हुन् । 

बालविवाह नगर्ने र बालविवाह हुन नदिने प्रतिबद्धता हिमावासीले गरेका हुन् । कुनै बेला बालविवाहको जटिल समस्या भोगिरहेको हिमाले निकट भविष्यमै पालिका नै बालविवाहमुक्त घोषणा गर्दैछ । अध्यक्ष लक्ष्मणबहादुर शाहीले भने, ‘पालिकाभित्रका सबै वडाहरु बालविवाहमुक्त भइसके । अब पालिकास्तरमा चाहिने सुचकहरु पूरा गरेर पालिका नै बालविवाहमुक्त हुने तयारीमा छ ।’

'केही वर्षअघिसम्म झण्डै ७० प्रतिशतभन्दा बढी बालविवाह हिमाले खेपिरहेको थियो,' गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भने, ‘अहिले अभिभावकहरु सचेत छन् । किशोरकिशोरीहरु जानकार छन् । त्यही भएर शून्यमा झरेको छ ।’ 

अहिले हिमावासी बालविवाह बहिष्कार गरिरहेका छन् । 'उनीहरु न बालविवाह गर्छन् न त बालविवाह गर्न दिन्छन्,' उनले भने, ‘बरु सचेतना फैलाएर बालविवाहलाई सधैंका लागि सोचबाट हटाउन चाहिरहेका छन् ।’

अहिले हिमाका गाउँबस्तीमा बालविवाह अन्त्यको लहर नै चलेको छ । युवायुवतीहरु जुर्मराएका छन् । किशोरकिशोरीहरु बालविवाह रोक्न सचेतना फैलाइरहेका छन् । आमा समूह, धर्मगुरुहरु, पुरोहितदेखि बुढापाकासमेत बालविवाह गर्दा हुने हानिनोक्सानी बारेमा सजग छन् । 

'अशिक्षा, गरिबी, सामाजिक संस्कार र प्रविधिको दुरुपयोगले बालविवाह मौलाइरहेको थियो,' अध्यक्ष शाहीले भने, ‘सामाजिक हानिकारक अभ्यासका बारेमा जनचेतना छर्न थालेपछि बालविवाह गर्ने भेटिँदैनन् ।’ हिमाले २०१८ देखि नै बालविवाह अपराध भएको ठहर गर्दै न्यूनीकरणको अभियान चलाएको थियो । २० वर्ष नपुग्दै आमा बन्नेहरु पनि धेरै थिए । अहिले उनीहरुको शारीरिक अवस्था नाजुक छ । गरिबी मौलाइरहेको छ,' उनले भने, ‘यी असरहरु प्रत्यक्ष रुपमा हेर्न पाएपछि किशोरकिशोरीहरु बालविवाह रोक्न लागि परेका छन् ।’

गाउँबस्तीमा बालविवाह गर्दा हुने बेफाइदाका कक्षहरु, अन्तरक्रिया, किशोरी शिक्षा, अभिभावक र समुदायका अगुवाहरु बिचको छलफल, बालविवाहले देखिने सामाजिक र शारीरिक समस्याका बारेमा पटकपटक छलफल हुने गरेको थियो । 

जनप्रतिनिधि, युवा क्लबहरु, महिला समूहहरुले जागरण नै चलाए । बालविवाह गर्ने गराउनेलाई सरकारी सेवाबाट बञ्चित गर्ने र विवाह बहिस्कार गर्ने सम्मका कार्यहरु चले । गाउँपालिकाले हरेक बालविवाहमुक्त वडालाई घोषणाको औपचारिक पत्र दिएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully