तरकारी खेतीले आत्मनिर्भर बन्दै महिला

वैशाख २९, २०८२

डीबी बुढा

Women becoming independent through vegetable farming

जुम्ला — तातोपानी–२ की सत्या बुढाको दैनिकी तरकारी बारीमै वित्छ । बिहानै तरकारीको रेखदेख गर्न उनी बारीमै पुग्छिन् । पछिल्लो समयमा उनी तरकारीखेतीबाटै आर्थिक रुपमा सबल बन्नेमा अग्रसर छिन् । उनको बारीमा मुला, गाजर, आलु, काउली, बन्दा, गोलभेडा र प्याजको खेती भइरहेको छ ।

सिजनमा तरकारी बेचेर लाखौं रुपैयाँ भित्र्याउने उनको सपना छ । पहिले धानखेती भइरहेको उनको बारीमा अहिले तरकारी फलेको छ । उनले भनिन्, ‘धानमा रोगकिराको संक्रमण बढ्दा निकै सास्ती पाइरहेका थियौं । अहिले तरकारी खेतीमा लागेर आर्थिक पक्ष बलियो बनाउने पक्षमा उभिएका छौं ।’ 

जलवायु परिवर्तनका कारण जुम्लाको खेती प्रणालीमै हलचल देखिएपछि किसानहरु वैकल्पिक उपाय अपनाउन थालेका हुन् । अहिले उनी तरकारीको बजार र मूल्यका विषयमा चासो राख्छिन् । विषादीरहित अर्गानिक तरकारी रोपिएकोले उनको तरकारीको माग अहिले देखि नै हुन थालेको छ । पहिलो पल्ट जिल्लाबाहिर त तरकारी पठाउन नसकौंला तर जिल्ला भित्र पुर्‍याउने आँट गरेको उनी बताँछिन् । 

Women becoming independent through vegetable farming

सोही गाउँकी जयलक्ष्मी बुढाले पनि तरकारी खेती गर्न थालेको धेरै भयो । तर यो वर्षदेखि उनी व्यवसायिक रुपमा अघि बढिन । पहिले आफैंले खाने तरकारी फलाइरहेकी उनले यो पटक ताजा तरकारी बजार सम्म पुर्‍याउने तयारी गरेकी हुन् ।

सडक सञ्जालको फहुँच सँगै टुक्रेबजार बढेपछि उनी त्यही बजारको मागका आधारमा तरकारी फलाउन थालेकी छिन् । तरकारीबाटै आम्दानी गरेर श्रीमान्‌सँग माग्नु नपरोस् भन्ने उनको सोच छ । बालबालिका पढाउनेदेखि बचेको रकम बचत गरेर आपतकालीन अवस्थामा प्रयोग गर्ने सोचमा छिन् उनी ।

Women becoming independent through vegetable farming

उनले भनिन्, ‘अब तरकारी परिवारको खान्कीका रुपमा मात्र प्रयोग हुँदैन, नजिकैका बजारहरुमा पुर्‍याएर प्रमुख आम्दानीको स्रोतका रुपमा उत्पादन भइरहेको छ ।’ उनको उत्पादन गाउँपालिका केन्द्र लिताकोट बजार, तातोपानी बजारमा खपत भइरहेको छ । यो पटक धेरै उत्पादन गरेर खलंगासम्म लैजाने तयारी उनको छ ।

यस्तै बिहानैदेखि व्यस्त हुन्छिन् स्थानीय गंगा बुढा । एकाबिहानै बजारसम्म धनियाँ, साग र अन्य तरकारी बिक्रीका लागि आउँछिन् । झण्डै एक रोपनी खेतमा उनको तरकारी खेती छ । उनले भनिन्, ‘पहिले तरकारी बिना सुख्खा खाना खाइरहेका हुन्थ्यौं अहिले १२ महिना नै हरियो तरकारी पाक्न थालेको छ ।’

Women becoming independent through vegetable farming

सत्या, जयलक्ष्मी र गंगा त तरकारी खेती गर्ने प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता २८ जना महिलाले एक हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेका छन् । उनीहरुको खेती सामूहिक जस्तो भए पनि उत्पादन भने व्यक्तिगत रुपमै लिइरहेका छन् । धनबहादुर रावतले भने, ‘तातोपानी २ का किसानहरु तरकारी खेतीमा हौसिएका छन् ।’

उनीहरु अर्गानिक तरकारी मात्र फलाइरहेका छैनन् । जैविक विषादी बनाएर रोगकिरा नियन्त्रण गर्न पनि लागिरहेका छन् । उनीहरुले गरेको तरकारी खेती कर्णाली राजमार्ग छेउमै भएकोले सबैले सहजै रुपमा हेर्न सक्छन् । बालबालिकाको पोषणमा पनि सहयोग पुग्ने र मनग्गे आम्दानी पनि लिन सकिने भएकोले प्रमुख आम्दानीको स्रोतका रुपमा तरकारी खेतीलाई लिएका छन् ।

Women becoming independent through vegetable farming

जुम्लाको चन्दननाथ १ तलिचौर र तातोपानी २ का किसानहरु व्यवसायिक तरकारी खेतीमा होमिएका छन् । विशेष गरेर महिला र दलितहरु तरकारी खेतीमा लागेका हुन् । उनीहरुलाई ग्रीन हाउस, बीउ र तरकारी खेती बारेको तालिम पाएपछि उनीहरु व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका छन् ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully