सल्यानमा भेटियो रुख प्रजातिको दुलर्भ तथा लोपोन्मुख उन्यु

वैशाख २९, २०८२

विप्लव महर्जन

A rare and endangered tree species was found in Salyan

सल्यान — सल्यानमा पहिलो पटक लोपोन्मुख तथा दुलर्भ मानिने रुख प्रजातिको उन्यु भेटिएको छ । जिल्लाको दार्मा गाउँपालिका र कपुरकोट गाउँपालिकाको दुई सामुदायिक वनमा लोपोन्मुख तथा दुर्लभ रुख प्रजातिको उन्यु भेटिएको हो ।

साईथिया स्पिनुलोसा वैज्ञानिक नाम रहेको रुख प्रजातिको उन्यु फेला परेपछि पश्चिम नेपालमै यसको पहिलो आधिकारिक अभिलेख गरिएको छ । बनस्पति अनुसन्धान केन्द्र कपुरकोट, कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र स्थानीयतहको स्थलगत अध्ययन अनुसार दार्मा गाउँपालिका ३ धुलखर्क सामुदायिक वनको डौरेखोला र कपुरकोट गाउँपालिका ४ को कालिका सामुदायिक वनमा रुख प्रजातिको उन्यु फेला परेको बनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानका प्रमुख मित्र पाठकले बताए । 

नेपालमा पाइने साईथियाका चार प्रजाति साईटिसमा सूचीकृत रहेका र जसमध्ये दुई संकटापन्न, एक दुर्लभ र एक लोपोन्मुख अवस्थामा रहेकामा सल्यानका दुई पालिकाका दुई सामुदायिक वनमा भेटिएको रुख प्रजातिको उन्यु दुर्लभ तथा लोपोन्मुख रहेको उनले जानकारी गराए । 

उनका अनुसार रुख उन्यु देश अनुसार फरक फरक स्थानमा पाइने गर्छ । पूर्व र मध्य नेपालको ७ सय ५० मिटरदेखि २ हजार मिटरसम्मको उचाईमा पाइने रुख प्रजातिको उन्यु ताईवानमा भने यो ३ सय देखि २ हजार ५ सय मिटर उचाईमा घना जंगलमा पाइने गर्छ । सल्यानका दुई सामुदायिक वनमा रुख प्रजातिको उन्यु भेटिएपछि पूर्व र मध्यबाट पश्चिम नेपालसम्म विस्तार भएको पुष्टि भएको छ ।

स्थानीय जातमा कलिलो मुन्टालाई तरकारी खानको लागि प्रयोग गरिने डौरे भनेर चिनिने उन्यु छाला, मधुमेह, मृगौला, आँखाको संक्रमण, क्यान्सर र क्षयरोगको उपचारमा परम्परागतदेखि औषधिको रुपमा प्रयोग गरिँदै आएको र कतिपय स्थानमा सजावटका सामग्रीको रुपमा प्रयोगमा आउने गरेको उनको भनाइ छ ।

सल्यानमा रुख प्रजातिको उन्यु मात्र नभई कांकटसिंघा, वन चाँप, सुनाखरी, टटेलो लगायत अन्य बनस्पति पनि लोपोन्मुख अवस्थामा पुगेकाले ती बनस्पतिको संरक्षणमा वनस्पती कार्यालय लागेको उनले बताए । 

दार्मा गाउँपालिकाका कृषि प्राविधिक नेत्रलाल घर्तिले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेपछि विभिन्न निकायको अध्यननबाट लोपोन्मुख तथा दुलर्भ रुख प्रजातिको उन्यु भएको पुष्टि भएको कुमाख गाउँपालिकामा रोजगार संयोजक र वनसम्बन्धी काम गर्दै आएका वातावरणविद् जीवन शर्माले बताए । 

‘रुख प्रजातिको उन्यु फर्न हो । जुन उष्ण समशितोष्ण जलवायुयुक्त स्थानमा पाइन्छ । यसको जैविक, पर्यावरणीय र शैक्षिक महत्त्व धेरै छ,’ उनले भने । लोपोन्मुख तथा दुलर्भ रुख प्रजातिको उन्यु संरक्षणमा सबै लाग्न उनले आग्रह गरेका छन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully