वीरेन्द्रनगर — ‘मेरो मनको कुरा अरुलाई सुनाऊँ जस्तो पनि लाग्दैन । आफ्ना मनका कुरा आफैलाई सुनाउँछु । मभित्र एउटा जनावर छ । हामी प्रत्येकभित्र एउटा जनावर छ । यसले हामीलाई गाइड गरेको हुन्छ । जबसम्म हामीले यसलाई गाइड गर्दैनौं, यसले हामीलाई सही मार्ग दिन सक्दैन । त्यसैले म सकारात्मक भावका साथ मेरा मनका कुरा म आफैलाई सुनाउँछु ।’
आफ्नो मनको कुराबारे सुनाइरहेकी थिइन्, हुम्लाको ताजाकोट गाउँपालिकाकी सपना शाही । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउन्डेसनले गरेको ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबार 'कर्णालीका छोरीसँग मनका कुरा' शीर्षकको कार्यक्रममा उनीजस्ता किशोरीले धक फुकाएर मनका कुरा खोले ।
शाहीले महिनावारीका समयमा निकै कष्ट बेहोर्नुपरेको अनुभव साटिन् । शिक्षित समाजमा अझै पनि महिनावारी भएको समयमा गोठमा बस्नुपर्ने प्रथाजनित गलत संस्कारको सिकार बन्नु परेको उनको भनाइ थियो । परिवार र समाजले स्वीकार्न नसक्दा महिनावारीको समयमा पशुसरहको विभेद खेप्नुपरेको गुनासो शाहीले व्यक्त गरिन् ।
उत्तरी नाम्खा गाउँपालिकाकी लामु तामाङले भने आफ्नो मनभित्रको कुरा आमालाई सुनाउने गरेको बताइन् । ‘आफ्नो मनको कुरा ममीसँग सेयर गर्छु । तर सबै कुरा सेयर गर्न सकिँदैन । डिटेलमा सेयर त आफैसँग गर्छु । अहिलेसम्म अन्य साथीहरुसँग मनका सबै कुरा सेयर गर्दिनँ । मेरा मनका कुरा सबैले सुनिदिउन् जस्तो पनि लाग्दैन,’ उनले भनिन् ।
हुम्लाकै खार्पुनाथ गाउँपालिकाकी रश्मि परियार पनि छोरी सम्मेलनमा आफ्ना कुरा सुनाउन आएकी थिइन् । उनले आफूलाई समाजबाट जातकै कारण भोग्नुपरेको विभेदले पिरोल्ने गरेको बताइन् । ‘हाम्रो गाउँमा जातीय छुवाछुत निकै छ । मान्छे मरेपछि तिमीहरु तल्लो जातले छुनु हुँदैन भन्छन् । हामी जस्ता गरिबलाई हेपिन्छ,’ उनले भनिन् ।
आफूहरुलाई जातकै आधारमा विभेद गरिँदा अपहेलित हुनुपरेको दुखेसो परियारको छ । जातीय विभेद आफूलाई मन नपर्ने बताउँदै उनले नाम पछाडिको थरले जताततै विभेद भोग्नुपरेको गुनासो गरिन् । उनले पनि महिनावारीको विभेदबाट थिचिएको अनुभूति सुनाइन् । शाहीलाई आफ्ना बाबुआमाबाट टाढा भएर शिक्षा लिन पटक्कै मन परेको छैन । परिवारसँगै बसेर शिक्षा लिन नपाउने अवस्थाले निकै पिरोल्ने गरेको अनुभूति उनको छ ।
‘विकासका हरेक सूचकांकमा पछाडि परेको छ हुम्ला । पढाइ राम्रो हुँदैन । तीनचार महिना मात्रै पढ्न पाइन्छ । एसईई पास भएपछि तल आउँदा पढ्न निकै समस्या हुन्छ,' उनले भनिन्, 'हामी गाउँका सरकारी विद्यालयमा पढ्छौ, त्यहाँको पढाइ र यहाँको पढाइमा आकाश पाताल फरक हुन्छ । सरकारी विद्यालयमा हामीलाई अंग्रेजीको आधारभूत सीपसमेत हुँदैन । यसले हामीलाई निकै समस्या हुने गरेको छ ।'
सिमिकोट गाउँपालिकाकी सञ्चिता भण्डारीले बालविवाहले कैयौं छोरीको भविष्य अन्धकारमा धकेलिने अवस्था रहेको सुनाइन् ।
श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीका ७९ वटै पालिकाकाबाट झन्डै दुई सयभन्दा बढी छोरी सहभागी छन् ।
