'भीरबाट खस्ने र ढुंगा लागेर मर्नेको संख्या बाढीपहिरोले हुने मानवीय क्षतिभन्दा बढी'
कर्णाली — विपद्को उच्च जोखिममा रहेको कालीकोटमा सम्भावित विपद्सँग जुध्न पूर्व योजना निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा योजना निर्माण भएको हो ।
कालीकोटमा पहिरो, बाढी, आगलागी, चट्याङ, महामारी, ढुंगा खस्ने र भीरबाट लड्ने प्रमुख विपद् छन् । भुकम्प कतिखेर आउँछ भन्ने थाहा नभए पनि कमजोर भौतिक पूर्वाधार भएको कालीकोटमा ठूलो क्षति पुग्ने भएकाले भूकम्पलाई पहिलो विपद्का रुपमा लिइएको छ ।
जिल्लाका राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, सञ्चचारकर्मी, स्थानीय तहका जनप्रतिनिधिसहितको सहभागितामा निर्माण भएको जिल्ला विपद् पूर्वतयारी योजना ०८२ मा विपद्पूर्व गरिने सचेतना, विपद्का बेला गरिने राहत उद्धार र विपद्पश्चात् गरिने पुननिर्माण र पुनस्थापनालाई समावेश गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
'विपद्सँग जुध्न विभिन्न रणनीतिसहित पूर्वतयारी योजना बनेको छ । जिल्लामा बनेको योजनाले स्थानीय तह र विपद्सम्बन्धी काम गर्ने संघसंस्थालाई पनि फाइदा पुग्नेछ,' उनले भने, 'मनसुन सुरु हुनुअगावै बनेको योजनाले विपद्को क्षति कम गर्न सकिन्छ ।'
कालीकोटमा प्रमुख विपद्का रुपमा पहिरो भए पनि जिल्लामा बर्सेनि भीरबाट खसेको ढुंगा लागेर मृत्यु हुने र लडेर मर्नेको संख्या बढी देखिएकाले यहाँका सरोकारवालाले त्यस्ता घटनामा मृत्यु भएकालाई विपद् मानेर पीडितलाई राहत दिनुपर्ने माग गरेका छन् । 'कालीकोटमा जताततै भीर छ,' कांग्रेस सभापति अम्बबहादुर शाहीले भने, 'भीरबाट ढुंगा खसेर ज्यान गुमाएका र भीरको बाटो हिँड्दा लड्नेलाई विपद् मानेर राहात र क्षतिपूर्ति दिनुपर्छ ।
ग्राणीण भेगमा पोस्टमार्टमबिनै दाहसंस्कार
भैंसीलाई घास काट्न गएकी सान्नीत्रिवेणी-९ मुम्राकी ६८ वर्षीया मनपुरा केसीको स्थानीय मौरापानी भीरबाट खसेर निधन भयो । बुढेसकालमा पनि भीरमा गएर घाँस काट्नु उनको रहर नभई बाध्यता हो । ३ भैंसी र ५ गाईगोरु पालेकी केसीको जीवन निर्वाहको प्रमुख स्रोत पशुपालन हो । केसी परिवारले खेतीपाती गर्छन् ।
पशुबस्तु पाल्न कालीकोटको भीरपाखा जानैपर्ने बाध्यता छ । घाँस काटेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर लड्दा घटनास्थलमै मृत्यु भएपछि आफन्तले टाढाको सदरमुकाम पोस्टमार्टमका लागि नलैजाने सल्लाह गरेर प्रहरीलाई खबर नै नगरी गाउँमै दाहसंस्कार गरे । 'जिल्ला सदरमुकाम दुःख पाउन किन खबर गर्नु ?' स्थानीय अगुवा नमराज केसीले प्रतिप्रश्न गर्दै भने, 'दैव दशा लागेर लडेकी हुन्, कसैको कुनै दोष छैन । तर भीरबाट लडेकालाई सरकारले विपद् पनि मान्दैन ।'
खाँडाचक्र-३ ताडीकी ३२ वर्षीया जैपुरा पाण्डे मान्म बजार नजिकैको कोटको भिरालो जमिनबाट लडेर घाइते भइन् । उनलाई आफन्तले जिल्ला अस्पताल मान्म पुर्याए पनि अवस्था जटिल भएकाले सुर्खेत रिफर गरियो । एक साता भेन्टिलेटरमा राख्दा पनि होस नआएर मृत घोषणा गरियो ।
नाबालक ३ छोराछोरी भएकी जैपुराका पति सुस्त मनस्थितिका छन् । उनको उपचारमा लागेको ऋण तिर्न नसकेकर खेतपाखो बेचेर सुकुम्बासी भएका छन् । उनको उपचार र काज किरिया खर्चबापत कतैबाट सहयोग पाएनन् । उनी राहतका लागि महिनौं प्रशासन धाए तर विपद्मा पर्दैन भनेर रित्तै फर्काए ।
कालीकोटमा भीरबाट लडेर र भिरालो ठाउँ भएकाले बाटोमा हिँड्दाहिँड्दै पनि माथिबाट खसेको ढुंगा लागेर ठूलो मानवीय क्षति हुने गरेको छ । भीरबाट खस्ने र ढुंगा लागेर मर्नेको संख्या बाढीपहिरोले हुने मानवीय क्षतिभन्दा बढी रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए ।
'यहा त भीरबाट लडेर र ढुंगा खसेर मर्ने धेरै रहेछन्,' उनले भने, 'सरकारले विपद्को सूचीमा नराखे पनि कालीकोटको प्रमुख विपद् नै यही रहेछ ।'
बाढीपहिरोबाट ३०-३५ जनाको ज्यान जाने गरेको भए पनि भीरबाट लडेर र ढुंगा खसेर बर्सेनि ५० जनाभन्दा बढीको ज्यान जाने गरेको उनले जानकारी दिए । उनकाअनुसार आर्थिक वर्ष ०७९/०८० मा ६ पुरुष ७ महिला गरी १३ जनाको भीरबाट लडेर मृत्यु छ भने बाटोमा हिँड्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाउने पनि छन् ।
त्यस्तै, आर्थिक वर्ष ०८०/०८१ मा भीरबाट लडेर ९ जनाले ज्यान गुमाए भने ६ जनाको ढुंगा खसेर मृत्यु भएको छ । जबकि बाढीपहिरोबाट दुवै वर्षमा गरी १२ जनाले मात्र ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनयता भीरबाट लडेर र ढुंगा लागेर ११ महिला ९ पुरुष गरी २० जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
पहिरोबाट ज्यान गुमाउनेको विवरण प्रहरीलाई राहत तथा क्षतिपूर्तिका लागि आउने भए पनि भीरबाट खसेको र ढुंगा खसेर ज्यान गुमाउनेको आधाभन्दा बढीको जानकारी नै प्रहरीलाई आउँदैन । विपद् नमान्ने भएकाले पोस्टमार्टम गर्न झन्झटिलो हुने ठानेर प्रहरीलाई खबर नै हुँदैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले भीरबाट लडेर भवितव्य परेर ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने बताए । कालीकोटको कठिन भूगोलअनुसार भीरबाट खसेका र ढुंगा लागेर ज्यान गुमाएकालाई विपद्बाट मृत्युमा राख्दा यहाँका नागरिकलाई न्याय हुने उनको भनाइ छ ।
कालीकोटको भौगोलिक अवस्था नै विकट, जटिल र कठिन भएकाले बाटोघाटो राम्रो नहुनु, भिरालो जमिन भएकाले माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाउनुपरेकाले विपद्मा समावेश गर्न सरकारलाई अनुरोध गरिएको नेपाल रेडक्रस सोसाइटीका सभापति बलप्रसाद सञ्ज्यालले बताए ।
यहाँको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भीरबाट ढुंगा खसेर र भीरबाट लडेर हुने मानवीय क्षतिलाई विपद्मा समावेश गर्न अनुरोध गरेको छ । बैठकको निर्णय पुस्तिकामा भीरबाट लडेर र ढुंगा खसेर हुने घटनाका प्रभावित र पीडित परिवारबाट राहत तथा क्षतिपूर्तिको लागि अनुरोध भई आउने गरेकाले सो प्रकृतिका घटनाका पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रचलित कानुनमा स्पष्टता नदेखिएको हुँदा आवश्यक व्यवस्थामा लागि गृह मन्त्रालयमा अनुरोध गरी पठाउने निर्णय गरियो भन्ने उल्लेख छ ।
सरकारले विपद्मा परेका नागरिकलाई २५ हजार किरिया खर्चबापत उपलब्ध गराउँदै आएको छ भने २ लाख ज्यान गुमाएका परिवारलाई दिने गरेको छ । कर्णाली प्रदेश सरकारबाट पनि प्रति मृतक २ लाख थप रकम दिने नियम छ ।
