पुल निर्माणमा स्थानीयको अवरोध कायमै, सर्वदलीय बैठक पनि निष्कर्षविहीन

वैशाख २७, २०८२

रामचन्द्र न्यौपाने

Local people's obstruction in the construction of the bridge continues, even the all-party meeting is inconclusive

डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङमा निर्माण गर्ने भनिएको पक्की पुलको स्थानीयले विरोध गरेपछि निर्माण कार्य प्रभावित बनेको छ । बस्तीभन्दा माथि अनुपयुक्त ठाउँमा पुल निर्माण गर्न लागिएको भन्दै खदाङका बासिन्दाले झण्डै पाँच महिनादेखि पुल निर्माणमा अवरोध गर्दै आएका छन् ।

चीन–नेपाल हुँदै भारत जोड्ने त्रिदेशीय व्यापारिक मार्गको रूपमा चर्चामा रहेको भेरी करिडोरमा बन्न लागेको पुलमा लामो समयदेखि अवरोध भएपछि शनिबार सर्वपक्षीय अनुगमन गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायको नेतृत्वमा गरिएको अनुगमनमा स्थानीयसँग छलफल समेत गरिएको थियो । 

प्रमुख रोकायले अहिले पुल निर्माण हुन नसके विकास वर्षौंपछि धकेलिन सक्ने भएकाले अवरोध नगर्न स्थानीयलाई आग्रह गरेका थिए । छलफलमा स्थानीयले बस्तीको सुरुवाती भन्दा माथि कुनै पनि हालतमा पुल बनाउन नदिने अडान राखेपछि अनुगमनसहितको भेलाबाट कुनै पनि निर्णय हुन सकेन । 

‘जनतासहितको राज्य हो भने सबैलाई पायक पर्ने ठाउँमा पुल बनाऔं, होइन भने जनताको आवश्यकतालाई नबुझेर पुल बनाएमा स्थानीयको अवरोध कायमै हुन्छ,’ त्रिपुरासुन्दरी–५ का भक्तबहादुर रोकायले भने, ‘डीपीआर गर्दा पनि हाइड्रोपावरको काम हो भन्दै झुक्याइयो, पुल बनाउने भनेको भए त्यही बेला हामी पायक पर्ने स्थानमा नापजाँच गर्न लगाउने थियौं ।’

पुल निर्माणका विषयमा भएको छलफलमा राजनीतिक दलकै समेत राय बाझिएको छ । कांग्रेस, एमालेलगायत दलका जिल्ला प्रमुख एवं प्रतिनिधिले तोकिएकै ठाउँमा पुल बन्नुपर्ने अडान राखेका छन् भने माओवादीका जिल्ला प्रमुखले स्थानीयको विरोध हुँदाहुँदै पुल बन्न नहुने र ठाउँ सार्नुपर्ने अडान राखेका थिए । मत बाझिएपछि यो विषय जिल्लामै सर्वदलीय बैठक राखेर टुंग्याउनु पर्ने दलहरूको माग छ । ‘जनताले मान्दैनन् भने माटो परीक्षणमा लाग्ने खर्च नगरपालिकाले गर्छ, नगरपालिकाको सिफारिसका आधारमा पुल निर्माण गर्ने स्थान परिवर्तन हुन्छ भने पालिका तयार छ, नभए विकास रोक्ने काम नगरौं,’ त्रिपुरासुन्दरीका नगर प्रमुख जनचन्द्र रोकायले भने ।

नगरप्रमुख रोकायले यसअघि दुईपटक स्थानीयसँग छलफल गर्दा समेत विवाद साम्य हुन नसकेको बताए । ‘आएको विकास बजेट रोक्ने काम नगरौं, फेरि बजेट आउँदैन । प्राविधिक हिसाबमा उपयुक्त ठाउँमै पुल निर्माण गरौं,’ प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने, ‘यो सडक एक/दुई बस्तीमात्र जोड्ने होइन, तीन देश जोड्ने भएकाले सबै गम्भीर हुन जरुरी छ ।’  स्थानीय भावनाविरुद्ध बन्न लागेको पुलको डीपीआर परिवर्तन गरेर उपयुक्त ठाउँमा निर्माण गर्नुपर्ने खदाङका स्थानीयको माग छ । डीपीआरपछि ठेक्का खुलाउनु पर्नेमा ठेक्का खुलाएर डीपीआर गर्नाले समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ । 

भेरी करिडोरअन्तर्गत पर्ने छलगार्ड, खदाङ र तल्नुबगरमा पक्की पुल निर्माणका लागि ३६ करोड २४ लाख ८६ हजार रुपैयाँमा टेन्डर भई वाईपीएमआर जेभी भरतपुरले ठेक्का पाइसकेको छ । निर्माण कम्पनीले छलगार्ड र तल्नुबगरमा शिलान्यास गरेर काम सुरु गरिसके पनि खदाङमा विवाद भएपछि अझै काम सुरु हुन सकेको छैन । स्थानीयले काम गर्न नदिएपछि पुल निर्माण गर्ने भन्दै ठेकेदारले गत पुसमै ल्याएको निर्माण सामग्री अलपत्र परेको छ ।

पुल सेक्टर कार्यालय सुर्खेतका सवइन्जिनियर नवीन पाण्डेले प्राविधिक हिसाबमा उपयुक्त ठाउँमै पुल बनाउन लागिएकाले एक सेन्टीमिटर पनि ठाउँसारी गर्ने अधिकार आफ्नो कार्यालयलाई नभएको बताए । तीनवटै स्थानमा पुल निर्माण गर्न २०७९ माघ २६ मा सम्झौता भएको थियो । सम्झौता भएको ४० महिनाभित्र काम सक्नु पर्ने समेत समयसीमा तोकिएको छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully