‘कर्णाली छोरी सम्मेलन’ सुरु

वैशाख २७, २०८२

कान्तिपुर संवाददाता

'Karnali Daughter Conference' started

वीरेन्द्रनगर — कर्णालीमा पहिलोपटक ‘कर्णाली छोरी सम्मेलन’ सुरु भएको छ । ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार सुरु सम्मेलनको तारा भट्टराई र उनको समूहले उद्घाटन गरेको थियो ।

कर्णालीका ६९ वटा पालिकाका छोरीहरू भेला भएको सम्मेलनमा उनीहरूले मुख्यमन्त्री यामलाल कँडेल र उनकी श्रीमति गीता अधिकारीलाई कर्णालीका छोरीलाई समान अवसर र शिक्षाको प्रत्याभूत गराउने प्रतिबद्धतापत्र वाचन गर्न लगाएका थिए । 

मुख्यमन्त्री कँडेलले चेतनाको अभावका कारण कर्णालीमा अझै पनि अन्धविश्वास कायमै रहेको बताए । ‘समाजमा अन्धविश्वास छ, कुरीरित छ,’ उनले भने, ‘त्यो अझै बदलिन सकेको छैन, बदल्नैपर्छ । कर्णालीको अवस्था बदल्न सबैको सहभागिता आवश्यक हुन्छ ।’ संवैधानिक हिसाबले विभेदमुक्त भनिए पनि व्यवहारमा अझै विभेदका आयम  कायमै रहेको उनको भनाइ छ । ‘व्यवहारमा कसैले कसैलाई हिनताबोध नहुने गरी समाज निर्माण गर्ने कुरामा सबैले ध्यान दिनुपर्नेछ,’ कँडेलले भने, ‘संविधानमा धेरै कुरा लेखिएको छ, त्यो लेखाउन ७० वर्ष लाग्यो । तर व्यवहारमा अझै लागू हुन सकिरहेको अवस्था छैन ।’ उनले छोरीहरुलाई राजनीतितर्फ अग्रसर हुन पनि आग्रह गरे । ‘राजनीति भनेको स्वाभिमानको यात्रा हो,’ उनले भने, ‘राजनीति थाह पाउनुभयो भने राम्रो हुन्छ ।’

कर्णालीका सभामुख नन्दा गुरुङले सोच र शैलीमा सकारात्मक परिवर्तन ल्याउन यस्ता खालका कार्यक्रमले महत्त्वपुर्ण भूमिका खेल्ने बताइन् । ‘लैंगिक समानताको आधार निर्माणमा ध्यान दिनुपर्नेछ,’ उनले भनिन्, ‘छोरीहरु आत्मरक्षाका लागि हरेक पल सावधान रहनुपर्ने अवस्था अहिले पनि रहेको छ ।’ छोरी भएकै कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्नेमा उनले जोड दिइन् । ‘छोरीहरुको शैक्षिक सशक्तीकरणमा जोड दिन सकियो भने उनीहरुले समाजमा आफूलाई सुरक्षित अनुभूत गर्नेछन्,’ उनले भनिन्, ‘कर्णालीका छोरीहरुको अधिकार समानता र सशक्तीकरणसँगै शिक्षा, स्वास्थ्यका सवालमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने छ ।’ छोरीहरुको सुरक्षाका निमित्त सरकारले कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

कर्णालीमा छोरीलाई सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउने उद्देश्यसहित सम्मेलन गरिएको ज्योति फाउन्डेसकी अध्यक्ष ज्योति कटुवालले बताइन् । ‘कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने जमर्को हो,’ उनले भनिन्, ‘कर्णालीका छोरीको सशक्तीकरणका लागि यो एक गतिशील अभियान हो ।’ सम्मेलन सोमबारसम्म चल्नेछ । 

कान्तिपुर

Link copied successfully