तजबिजको आधारमा योजना बाँड्ने काम रोक्छौं : मुख्यमन्त्री कँडेल

वैशाख २५, २०८२

तृप्ति शाही

We will stop allocating schemes on the basis of merit: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजबिजका आधारमा योजना बाँड्ने काम बन्द गरिने बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित प्रदेश समन्वय परिषद् बैठकलाई सम्बोधन गर्दै सरकारले तजबिजको आधारमा बजेट बाँड्ने काम क्रमशः रोक्ने बताए । यसले बजेट वितरण प्रणाली व्यवस्थित हुने बताए । 

सरकारले प्रदेशसभाबाट पारित कार्यक्रममात्र कार्यान्वयन गर्छ । उनले भने, 'बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टीकाटिप्पणी उठ्न थालेपछि यस वर्षदेखि आयोजना छनौट गर्न कार्यविधि बनाएको छौं । योजना छनौटमा पक्षधरता वा जस्केलाबाट जान्छन् भन्ने विषयलाई समाप्त गर्ने अभियानमा सरकार लागिरहेको छ ।'

स्थानीय तहबाट योजनाको बारेमा प्रदेश सरकारलाई सुझाव दिँदै आए पनि यसपटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउँमा बसेर पहिलो पटक आयोजनाबारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास सुरु भएको जानकारी उनले दिए ।

आयोजना छनौट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने भन्दै मुख्यमन्त्री कँडेलले यस वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादन आधारित आयोजनाका रुपमा बिशिष्टकृत गरिने बताए ।  

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully