काठमाडौँ — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर १ का तीनसय घरधुरी दुई दिनदेखी बिजुली विहिन भएका छन् । छलगार्ड लघु जलविद्युत आयोजनामा प्रयोग भएको मेसिन बिग्रेपछि यस्तो समस्या निम्तिएको हो ।
विश्व वन्यजन्तु कोषको सहयोगमा १८ बर्ष अघि निर्माण भएको उक्त जलविद्युत अहिले स्थानीय उपभोक्ता समिति मार्फत चलिरहेको छ । नगरपालिकाको केन्द्र भएको त्रिपुराकोट बजारमा बत्ती नहुँदा दैनिक जनजीवन नै प्रभावित बनेको छ । रातीको समयमा स्थानियहरु खाना पकाउने तेलबाट बत्ती बालेर अध्यारो भगाउन बाध्य छन् ।
आयोजनाका कर्मचारी मोती प्रसाद हमालले एक्कासी मेसिनको बेरिङ बिग्रेपछि विद्युत सेवा अवरुद्ध भएको बताए । उनले बिग्रेको उपकरण बुटवलबाट मगाउनुपर्ने तर त्यसका निम्ती समितीसँग पैसा नभएको बताउँदै भने, ‘कहिलेसम्म अन्धकार हुने हो थाहा छैन् ।’
छलगार्ड लघु जलविद्युत आयोजनाका व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बिष्टले समितिको खातामा रकम नभएकाले पालिकासँग समन्वय गरिरहेको बताए । भने, ‘अघि व्यक्तिसँग ऋण निकालेर बिग्रेको सामान ल्याएर बत्ती बालेका थियाै । पहिलेकै पैसा तिरेको छैन्, अब कसलाई भन्नु ?’
