रुकुम पश्चिम — मुसिकोट नगरपालिका वडा नम्बर-८ कासुबाङस्थित एउटा घरमा नचिनेको समूहले आगो लगाएर घरधनी ५८ वर्षीया धनमती घर्तीमाथि आक्रमण गरेको छ । शनिबार राति ११ बजेतिर घरमा धनमती एक्लै भएको बेला घटना घटेको प्रहरीले बताएको छ ।
आफू सुत्ने तरखबर गरिरहेका बेला एक्कासि घरमा आगो लागेको पीडित धनमतीले बताइन् । हाल कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेकी उनले त्यस रात आफ्ना श्रीमान् पल्लो गाउँमा काम गर्न गएको र बुहारी छिमेकीको घरमा गएर नफर्केकाले आफू एक्लै भएका बेला घटना घटाइएको बताइन् ।
‘आगो लागेको थाहा पाएपछि म ज्यान जोगाउन बाहिर निस्किए । गोठमा रहेका पशुचौपायालाई बाहिर निकाले र कराए । त्यही बेला मुख पूरै छोपेको एकजना मान्छेले मेरो घाँटी समातेर ज्यान लिन खोज्यो,’ उनले भनिन्, ‘म कराउन थालेपछि मुखमा माटो हालिदियो । त्यसपछि छिमेकीले थाहा पाएर भेला भएपछि त्यो मान्छे भाग्यो ।’
धनमतीकी जेठी छोरी रमिता बुढाले घटनाबारे बताइन्, ‘मैले घटनाबारे राति १२ बजेतिर थाहा पाएँ अनि हतार–हतार माइतीमा पुगेँ । अनि आमालाई अस्पताल लियौं,’ उनले भनिन्, ‘जिल्ला अस्पतालमा आमाको उपचार नहुने भनेपछि यहाँ (कोहलपुर) ल्यायौं । अहिले उपचार भइरहेको छ ।’ आफ्नी आमाको ज्यान लिने नियतले नै घटना घटाएको शंका गर्दै रमिता थप्छिन्, ‘हामीले केही व्यक्तिमाथि शंका लागेर प्रहरीमा निवेदन दिएका छौ । र घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छौं ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सोमबार पीडितले निवेदन दिएको र यसबारेमा अनुसन्धान भइरहेको बताएका छन् । ‘पीडितले दिएको सूचना र हाम्रो आफ्नो तरिकाले हामी घटनाबारे अनुसन्धान गरिरहेका छौं । अहिले नै यही भन्नसक्ने अवस्थामा छैन,’ उनले भने ।
पीडित धनमतीका श्रीमान्, एक छोरा र बुहारी तथा दुई छोरी छन् । घरमा साथै बस्ने उनका श्रीमान् र बुहारी आगलागी भएको रात साथमा नभएको उनको भनाइ छ । साथै छोरा रोजगारका सिलसिलामा भारतमा र जेठी छोरी मुसीकोट–६ मा बिहे गरेर गएकी छिन् भने कान्छी छोरी रोजगारका सिलसिलामा कुवेतमा थिइन् ।
घटनापश्चात धनमतीका श्रीमान्, बुहारी र जेठी छोरी राति नै त्यहाँ पुगेकी थिएका थिए भने, कान्छी छोरी इमर्जेन्सी टिकटमा हिजो मात्रै कुवेतबाट धनमतीको उपचार भइरहेको अस्पताल पुगेकी छिन् । साथै छोरा भारतबाट फर्किने तरखरमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
