कनकासुन्दरीमा सेनाको स्वास्थ्य शिविर

वैशाख २३, २०८२

डीबी बुढा

Army Health Camp at Kanakasundari

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ग्रामीण बस्तीमा रकम अभावका कारण अस्पतालसम्म पुग्न नसकेका बिरामीको अवस्थालाई मध्यनजर गर्दै कनकासुन्दरीमा सेनाले शिविर चलाएको हो ।

शिविरमा हिमा, सिंजा, कनकासुन्दरी, तिला र तातोपानी गाउँपालिकासम्मका बिरामी जाँच गराउन पुगेका थिए । यो सँगै कालिकोट र मुगुदेखिसमेत शिविरमा बिरामी उपचार गराउन आइपुगेको देविदत्त गणले जनाएको छ । 

शिविरमा जनरल फिजिसियन, दन्तरोग, स्त्रीरोग लगायतका विशेषज्ञ सेवा प्रदान गरिएको गणपति धिरज थापाले जानकारी दिए । उनका अनुसार नम्बर २४ गुल्मका चिकित्सक र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरु शिविरमा खटिएका थिए ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र कनकासुन्दरी गाउँपालिकाको समन्वयमा सेनाले शिविर चलाएको हो । शिविरबाट ५ सय ५६ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन् । जसमा पुरुष १८४, महिजा ३१९ र बालबालिका ५३ जनाले उपचार सेवा लिएको गणपति थापाले जानकारी दिए । 

शिविरमा महिला, बालबालिका र ज्येष्ठ नागरिकले सहजै रुपमा उपचार सेवा पाएका हुन् । हरेक वर्ष हुने यस्ताखाले स्वास्थ्य शिविरले नागरिक, सैनिक सम्बन्ध सुमधुर बनाउन सहयोग गरिरहेको गणपति थापाको भनाइ छ । 

‘सहरमा स्वास्थ्य सेवाको पहुँच सहज भए पनि ग्रामीण बस्तीमा सहज उपचार नपाउँदा रोग थन्क्याएर बस्नु परेको अवस्था छ,’ गणपति थापाले भने, ‘उनीहरुको स्वास्थ्य जाँचको लागि यो शिविर चलाइएको हो ।’

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सेनाले चलाएको स्वास्थ्य शिविरले ग्रामीण बस्तीका नागरिकले उपचार सेवा पाएको बताए । अहिले पनि नागरिकले सहरका महँगो उपचार सेवा पाइरहेका छैनन् ।

‘रकम अभावले अस्पतालसम्म जान पनि सक्दैनन्,’ अध्यक्ष आचार्यले भने, ‘यो शिविरले रोग पालेर बसेका बिरामीको लागि निकै राहत मिलेको छ ।’ आगामी दिनमा पनि सेनासँगको सहकार्यले स्वास्थ्य शिविर लगायतका रचनात्मक काममा सहकार्य गर्ने उनको भनाइ छ ।

स्थानीय दीपेन्द्रप्रसाद उपाध्यायले गाउँमा सेनाको स्वास्थ्य शिविर बस्दा राहत मिलेको बताए । उनले भने, ‘पहिले सेना देख्नेवित्तिकै डराउनुपर्ने अवस्था थियो । अहिले सेना सबैको भरोसा बनेको छ । जसले नागरिक सैनिक सम्बन्ध थप मजबुद बनाउन सहयोग मिलेको छ ।’

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्य, नेपाली सेनाका नं. २४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी लोकेश केसी, देविदत्त गणका गणपति प्रमुख सेनानी धिरज थापाले शिविरको अवलोकन गरेका थिए ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully