सल्यान — आइतबार बेलुकी परेको वर्षापछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा पक्की पुल, खानेपानीको ट्यांकी र सिँचाइ कुलो लगायतका संरचनामा क्षति पुगेको छ ।
वर्षापछि शारदा नदीमा आएको बाढीले बाग्चौर नगरपालिका २ बाग्चौर–पालिहाल्ना सडक खण्डको शारदा नदीमा निर्माणाधीन पक्की पुल, बाग्चौर लिफ्ट खानेपानी, स्थानीयको घट्ट, गहुँबाली र दार्मा गाउँपालिकाको दार्मा खोलामा आएको बाढीले सिँचाइ कुलो, घट्टमा क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार बाग्चौर–पातिहाल्ना सडक खण्डको बीचमा पर्ने शारदा नदीमा पक्की पुल निर्माणका लागि खोलामा थुपारेको माटोका कारण पानी थुनिँदा बाढी आएको थियो । बाढीले जेसिबीको बकेट, पम्पसेट, सरिया , पानी तान्ने मोटर र बाग्चौर लिफ्ट खानेपानी योजनाको पाइप बगाएको छ ।
उनका अनुसार बाढीले ह्यूमपाइपमासमेत क्षति पुगेपछि बाग्चौर पातिहाल्ना सडक अवरुद्ध भएको छ । बाढीले कति रकम बराबरको क्षति भयो भन्ने कुरा खुल्न नसकेको उनको भनाइ छ । यता दार्मा गाउँपालिकाको दार्मा खोलामा आएको बाढीले विभिन्न स्थानमा सिँचाइ कुलो, पानी घट्टलगायतमा क्षति पुर्याएको छ । हावाहुरीका कारण पोल ढल्दा केही स्थानमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।
पक्की पुल निर्माणको काम गरिरहेको प्राकृतिक निसान जेभिका ठेकेदार डिल्ली केसीले पुलमा क्षति पुग्नुका साथै निर्माण सामग्रीसमेत बगाएको बताए ।
बाढीले क्षति पुर्याएको शारदा नदीमाथिको पक्की पुल, खानेपानी योजना, घट्ट र गहुँबाली । तस्बिरः कान्तिपुर ।
