वीरेन्द्रनगर — आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी प्रेमा ओलीको हत्या आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय ओलीको हत्या आफैले गरेको श्रीमान्ले प्रहरीसमक्ष बयान दिएका छन् ।
सामान लिनका लागि छिन्चु बोलाएका श्रीमान् जक्सन खत्रीबीच झगडा भएपछि टाउकामा ढुंगा हानेर लडाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रिसको आवेगमा हानेका खत्रीले प्रेमा उठ्दै नउठेपछि आफै मरेको हो भन्ने बनाउन घाँटीमा प्रेमाकै सलले कसेर खोला किनाराको पानीमा फालेर घर गएको बयान प्रहरीलाई दिएका छन् ।
खत्री शनिबार राति ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ । प्रेमाको हत्या आफू एक्लैले गरेको र आशंका नै मुख्य कारण भएको बयान खत्रीले दिएका छन् । प्रेमासँग विवाह भएको सुरुका केही वर्ष सम्बन्ध राम्रो भएको र विस्तारै बढी शंका गर्दा पाँच वर्षदेखि सम्बन्ध राम्रो नभएको बयानमा भनेका छन् ।
घरायसी विवादकै कारण घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए । उनका अनुसार खत्रीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
