कालिकोट — मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएका समाजसेवी धनकृष्ण पाण्डेको मृत्यु भएको छ । खाँडाचक्र–३ ताडी बस पार्कबाट भौरुकुनास्थित घर जाने क्रममा आइतबार राति उनी दुर्घटनामा परेका हुन् ।
कर्णाली प्रदेश ०२००२ प ५८७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते ४० वर्षीय पाण्डेलाई कालिकोट जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सुर्खेत लैजाने क्रममा दैलेखको पाल्ताडामा सोमबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसपार्कबाट उकालो क्याम्पस रोड हुँदै जाने क्रममा मोटर साइकल दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतले बताए । राति भीरबाट मोटरसाइकल अनियन्त्रित भएर खसेको उनको भनाइ छ ।
मोटरसाइकलसहित उनी सडकबाट ६ सय मिटर तल खसेका थिए । टाउकोमा गम्भीर चोट लागेर भाइते भएका पाण्डेलाई सुर्खेत रेफर गरिएकोमा बाटैमा निधन भएको हो ।
उनी खाँडाचक्र ३ ताडी बजार व्यवस्थापन समिति र पाल्तमहादेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसमेत हुन् ।
