सल्यान — शारदा नगरपालिका-६ खामेलेकको चुनढुंगा उत्खनन गर्न विश्वकर्मा सिमेन्ट फ्याक्ट्रीले २०६२/०६३ मा नै खानी तथा भूगर्भ विभागसँग अनुमति लियो। तर उक्त कम्पनीले अहिलेसम्म पनि खामेलेकबाट चुनढुंगा उत्खनन गर्न सकेको छैन।
उत्खननका लागि कम्पनी सञ्चालक आई सार्वजनिक सुनुवाइ समेत गरिसकेका छन्। तर अहिलेसम्म उत्खनन गर्न सकेका छैनन्। यस्तै, सिद्धकुमाख गाउँपालिकाको ढोडचौर क्षेत्रबाट चुनढुंगा उत्खनन गर्न शोभा भण्डारी कन्ट्रक्सनले ०७५/७६ मा अनुमति पायो । वनबाट अनुमति नपाउँदा उक्त कम्पनीले पनि अहिलेसम्म उत्खननको कार्य अगाडि बढाउन सकेको छैन।
यी दुई मात्र नभई जिल्लाका विभिन्न स्थानमा खनिज पदार्थ रहेको खानी तीन दशकदेखि पाँच कम्पनीको नाममा रहेको छ। उत्खननको अनुमति पाए पनि अहिलेसम्म उत्खनन गर्न सकेका छैनन् । वनको भोगाधिकार नपाएकै कारण कम्पनीले खानीजन्य वस्तु उत्खनन गर्न नसकेका हुन्।
चारैतिर पहाडै पहाडले घेरिएको कर्णाली प्रदेशको जिल्ला सल्यान खनिज पदार्थमा धनी मानिन्छ । यहाँका धेरै ठाँउमा कोइला ,चुनढुङ्गा, फलाम ,सिसा र महत्त्वपूर्ण पत्थरको खानी रहेको खानी तथा भूगर्भ विभागले बेलाबेलामा गरेको अध्ययनबाट खुल्न आएको छ ।
चुनढुङ्गा र कोइला उत्खनन गरी बिक्री गरे जिल्ला सम्पन्न हुने मात्र नभई युवालाई रोजगारी दिलाउन सकिने भए पनि अहिलेसम्म उत्खनन गर्ने विषयमा न कम्पनी अगाडि सरेको देखिन्छ, न त सम्बन्धित निकायले ताकेता नै गरेको देखिन्छ ।
चासो देखाएका केही कम्पनी पनि नजिकै बाक्लो बस्ती भएका कारण तत्काल हटाउन नसक्ने अवस्था सिर्जना भए पनि पछि सरेका छन् । जसका कारण जिल्लाका युवापुस्ताहरू रोजगारीको लागि खाडी लगायत अन्य मुलुक जान बाध्य हुनु परेको छ ।
आर्थिक वर्ष २०४० तिर खानी तथा भूगर्भ विभागले खामेलेक तथा स्थानीय केही लेकमा चुनढुङ्गाको अध्ययन गरेको र कर्णाली प्रदेशमा सबै भन्दा राम्रो चुनढुंगा शारदा नगरपालिका-६ खामेलेकमा रहेकाले ५.६८८ वर्ग किलोमिटर सम्म चुनढुंगा उत्खनन गर्न सकिने विभागको तथ्याङ्कमा उल्लेख भए पनि अहिलेसम्म कम्पनीले खासै चासो नदेखाएको शारदा नगरपालिका-६ का वडा अध्यक्ष भीकराज बुढाथोकीले बताए।
केही वर्ष अगाडि कम्पनीका प्राविधिकहरू आएर सार्वजनिक सुनुवाइ गरेका र स्थानीयले बस्ती स्थानान्तरण नगर्दासम्म चुनढुंगा उत्खनन गर्न नदिने दबाब सिर्जना गरेपछि प्राविधिक टोली अहिलेसम्म फर्केर नआएका उनले जानकारी गराए ।
कपरकोट गाउँपालिका वडा नं १ गर्पा, राम्री र पाखा पानीबाट डेढ दशक अघि एक कम्पनीले कोइला उत्खनन गरेको खाल्डो देख्न सकिने भए पनि अहिले त्यो त्यत्तिकै रहेको र २०७४ मा शिवस्वरुप खनिज उद्योगले कपुरकोटबाट चुनढुंगा उत्खननका लागि अनुमति लिएको भनी पालिकामा पत्र आए पनि अहिलेसम्म सम्पर्कमा नआएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।
खनिज पदार्थ उत्खननमा पालिकाले मापदण्ड विपरीत काम गरे मात्र रोक लगाउने उनले जानकारी गराए । ‘खनिज पदार्थ उत्खनन कार्य त्यत्ति सहज नभएकाले कम्पनीले चासो नदेखाएको हुनसक्छ’ उनले भने ।
कालीमाटीको मर्चेबारी र घुरचौरमा गरेको चार दशक अघि गरेको अध्ययन अनुसार ५० वर्ष भन्दा बढी कोइला निकाल्न सकिने सम्भावना भए पनि सम्बन्धित निकायले उत्खननका लागि अहिलेसम्म प्रक्रिया अगाडि नबढाएको र कालीमाटी गाउँपालिका-१ चोत्रे नजिकै चुनढुंगा उत्खननका लागि एक कम्पनीको प्राविधिक टोली अध्ययनमा आए पनि उत्खननको अनुमति नपाएकाले खनिज पदार्थ खानीमै सीमित रहेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए ।
खनिज पदार्थ उत्खननको जिम्मेवारी पालिकालाई नभएकाले अहिलेसम्म केही गर्न नसकेको उनले जानकारी गराए । ‘खनिज पदार्थ उत्खनन गरे युवा पुस्ताले गाउँमै रोजगारी पाउँथे । काम गर्न खाडी मुलुक जान पर्दैनथ्यो ’ उनले भने, ‘उद्योग कलकारखाना नहुँदा अहिले गाउँघरमा युवा पुस्ता कोही छैनन् सबै रोजगारीको लागि खाडी लगायत अन्य मुलुक गएका छन् । युवा पुस्ता सबै बिदेसिँदै गएका र भएका पनि बसाइसराइ गर्न थालेपछि गाउँघर सुनसान बन्दै गएका छन्’ ।
२०६१/०६२ मा चुनढुंगा उत्खननका लागि अनुमति लिएको दाङ सिमेन्ट ईन्डस्ट्रिज प्रालिले जिल्लाको त्रिवेणी गाउँपालिकाको वडा नं १ अखेला क्षेत्रमा सिमेन्टका लागि प्रयोग हुने चुनढुंगा उत्खनन कार्य अगाडि बढाएको तर पालिकाबाट अनुमति नलिएकाले आफ्नो क्षेत्रमा चुनढुंगा उत्खननमा रोक लगाएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए । कम्पनीले मापदण्ड पूरा गरी पालिकासँग अनुमति लिएमा उत्खनन गर्न पाउने उनले जानकारी गराए ।
खानीजन्य बस्तु उत्खननका लागि धेरै जटिलता हुने र कम्पनीले वातावरण परीक्षण , वन संरक्षण, बस्ती स्थानान्तरण देखि लिएर हरेक मापदण्ड पूरा गर्नु पर्ने भएकाले विगतमा खानीजन्य उत्खनन गर्न रोक लगाए पनि सबै किसिमका मापदण्ड पूरा गरेकालाई वन कार्यालयले रोक नलगाउने डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए ।
खानीजन्य बस्तु उत्खननका लागि अहिलेसम्म एक कम्पनी मात्र सम्पर्कमा आएर समन्वय गरेको उनले जानकारी गराए । मापदण्ड पूरा नगरे कम्पनीले वनको भोगाधिकार नपाउने उनको भनाई छ ।
सल्यानमा रहेका खानीजन्य बस्तु उत्खननको लागि तीन दशक यता पाँच कम्पनीले अनुमति पाएकामा दाङ सिमेन्ट कम्पनीले मात्र त्रिवेणीबाट चुनढुंगा उत्खनन गर्दै आएको र अन्यले उत्खनन गर्न नसकेका खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटाले बताए । उत्खननको अनुमति पाएका सबैले वनको भोगाधिकार विभागबाट नपाएकै कारण उत्खनन कार्य अगाडि बढाउन नसकेका उनले जानकारी गराए ।
उनका अनुसार सात कम्पनीले उत्खननका लागि अध्ययन गर्दै आएका छन् । उत्खननको अनुमति पाएको तीनबर्ष भित्र उत्खनन नगरे लाइसेन्स खारेज हुने भएकाले अहिले सिद्धकुमाखमा उत्खननको अनुमति पाएको शोभा भण्डारी कन्स्ट्रक्सन लाइसेन्स खारेज भएको र विश्वकर्मा सिमेन्टले भने आफ्नो प्रक्रिया अगाडि बढाइरहेकाले त्यसको खारेज नभएको उनको भनाई छ ।
दुई दशक अघि कपुरकोटबाट कोइला निकालेर लगेका बगैश्री कोल ईन्डस्ट्रिजका प्रमुख दिनेश डाँगीले कपरकोट क्षेत्रमा दुई महिना मात्रै काईला निकालेको र गुणस्तर कम भएकाले निकाल्न छाडेको बताए । अन्य कम्पनीका प्रमुखले भने वनको भोगाधिकार पाउने नसकेकै कारण उत्खनन कार्य अगाडि बढाउन नसकिएको जनाएका छन् ।
