सुर्खेत — कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारणलाइन विस्तारको काम लामो समयपछि सुचारु भएको छ । २ वर्षदेखि बाँकेस्थित बैजनाथ गाउँपालिका–१ बानियाँभारमा हाइटेन्सन टावर निर्माणका लागि स्थानीयले जग्गा नदिएपछि काम अलपत्र परेको थियो ।
शनिबारदेखि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी काम सुचारु गरिएको हो । बानियाँभारका स्थानीयले विभिन्न विकल्प हुँदाहुँदै गाउँको बीचबाट प्रसारणलाइन लैजाँदा आफूहरुको उठिबास लाग्ने बताउँदै आएका छन् । कर्णाली प्रदेश सरकारले भने लुम्बिनी प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरी काम सुचारु गरेको हो ।
‘हामीले स्थानीयलाई सहमतिमा ल्याउन पटकपटक प्रयास गर्न खोज्यौं, तर विवाद घट्नुको साटो बढ्दै गएपछि स्थानीय प्रशासनको सहयोग लिइएको हो,’ आयोजनाका प्रमुख रविकुमार चौधरीले भने, ‘ढिलोमा साउनसम्म काम सक्नेगरी निर्माणस्थलमा प्राविधिक र कामदारलाई खटाइएको छ ।’
उनका अनुसार स्थानीयले सरकारले तोकेभन्दा बढी मुआब्जाको माग गर्दै काममा अवरोध गरेका थिए । आयोजनाअन्तर्गत १ सय ६२ वटा टावरहरुमध्ये १ सय ५३ वटा टावर निर्माण भइसकेका छन् । अब ९ वटा टावर निर्माण सकिएपछि आयोजनाले पूर्णता पाउने उनले जानकारी दिए ।
बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्मको लाइन विस्तार गर्नेगरी २०७७ असारमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्का लिएको छ । उसले सुरुमा २४ महिनाको लागि ७० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म ४ पटक म्याद थपिसकेको छ । अन्य खण्डमा काम नियमित भए पनि उक्त खण्डमा काममा समस्या भएको थियो ।
आयोजनामा ढिलाइ भएपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले केही समयअघि गृहमन्त्री रमेश लेखकलाई यसबारे जानकारी गराएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी काममा अवरोध हुन नदिन पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार विवादित क्षेत्रमा प्रतिकठ्ठा २५ लाख, २८ लाख र ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ । उनीहरुलाई नियमअनुसार मुआब्जा भुक्तानी गरिने उनको भनाइ छ । बाँकेको कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ ।
टावर निर्माण भएका क्षेत्रमा तारसमेत तानिसकिएको उनले जानकारी दिए । प्रसारण लाइनमा अहिलेसम्म झण्डै ८० प्रतिशत भौतिक प्रगति भएको प्रमुख चौधरीले बताए ।
२०४५ सालमा राजा वीरेन्द्र सुर्खेत आउँदा सुर्खेतसम्म जोडिएको ३३ केभीएकै लाइन दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, रुकुम र सल्यानसम्म जोडिएको छ । कर्णालीमा करिब १ लाख ५० हजार घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ । १३२ केभी प्रसारण लाइन विस्तार नहुॅदा बिजुली जाने, भोल्टेज नपुग्नेलगायत समस्याबाट सास्ती भएको वीरेन्द्रनगर–६ का हर्कसिंह केसीले बताए ।
‘केन्द्रीय लाइन भन्नु मात्र छ,’ उनले भने, ‘एक घण्टामा ५/६ पल्ट बिजुली नगएको दिनै हुँदैन ।’ उनले बिजुली पटकपटक जाँदा विद्युतीय उपकरण बिग्रिने क्रम बढिरहेको बताए । विद्युत् समस्याकै कारण ठूला उद्योग खुल्न नसकेको कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाहीले बताए।
