जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले सोमबार सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।
रैथाने, कला, संस्कृति, भेषभूषा र चालचलन संरक्षणको लागि सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए । उनले भने, ‘आयातित संस्कृतिले रैथाने संस्कृति माथि प्रहार गरिरहेको छ । अब रैथाने संस्कृतिको महत्त्व झल्काउन यो महोत्सव आयोजना हुँदैछ ।'
महोत्सवमा कलाकारहरु प्रदीप खड्का, दीपाश्री निरौंला र नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसीसमेत अवलोकन गर्न आउने बताइएको छ ।
महोत्सवमा तातोपानी भित्र रहेका सबै परम्परागत क्रियाकलापहरुको उजागर गरिने अध्यक्ष चौलागाईँले बताए । नेपाल चलचित्र बोर्डको समन्वय, कर्णाली उत्थानशील अभियान नेपालको सहजीकरण र तातोपानी गाउँपालिकाको आयोजनामा हुन लागेको हो ।
महोत्सवमा पालिका भित्रका ८ वटै वडाका १६ वटा सांस्कृतिक समूहले आफ्नो सांस्कृतिक प्रस्तुति दिनेछन् । हुड्के नाच, बालो नाच,पञ्चेबाजा प्रदर्शन गर्नुका साथै ढालनाच, मागल पनि प्रस्तुत हुनेछन् ।
'पछिल्लो पिँढी स्थानीय भाषा बोल्दैनन् । रैथाने देउडा, मागल, झोडाहरु गाउन जान्दैनन्,' अध्यक्ष चौलागाईँले भने, ‘उनीहरुलाई रैथाने संस्कृतिको महत्त्व बुझाउन र दबिएका प्रतिभाहरु उजागार गर्न यो महोत्सव सशक्त माध्यम बन्नेछ ।’
यो महोत्सव गत फागुन ७ गते गर्ने भनिएको थियो । वैशाख १५ गते दोस्रो मिति पनि तोकियो तर प्राविधिक कारण हुन सकेन ।
तातोपानी गाउँपालिकाले यसअघि गिडिदह सम्मेलन, तातोपानी धारा संरक्षणको लागि छलफल र मार्सीधानको संरक्षणको लागि रोपाइँ महोत्वसको समेत आयोजना गरेको छ । मार्सीधानको पहिलो परीक्षण भएको भनिएको गुरुफोक्टामा हरेक वर्ष रोपाइँ महोत्सव हुँदै आएको छ ।
