चिचिलामै स्याउ सखाप पार्‍यो असिनाले, उत्पादन घट्ने चिन्ता

वैशाख २०, २०८२

डीबी बुढा

Apples in Chichila were destroyed by hail, concern about decrease in production

जुम्ला — जुम्ला गुठीचौर गाउँपालिका–३ दामदासे गाउँका नुर्व लामाको बगैंचामा स्याउ फुलेर सेताम्मे थियो । यो वर्ष स्याउको फूल हेरेर उत्पादन धेरै हुने भन्दै उनी खुसी थिए । कूल १ हजार ५ सय स्याउका विरुवा रोपिएकोमा गत वर्ष ८ सय विरुवाले फल दिए । यो वर्ष सबै विरुवाले फल दिने आशा थियो ।

तर गत बुधबार परेको असिनाले सबै फूल झारिदियो । उनले भने, ‘जुम्लाको आशलाग्दो फल स्याउ हो । स्याउ नै असिनाले झारिदिएपछि हामी समस्यामा छौं ।’ उनले गत वर्ष ८ लाख रुपैयाँको स्याउ बेचेका थिए ।

केही दिनको बदलिँदो मौसमले कालोतुसारो लाग्ने र असिना पर्नाले जुम्ली स्याउमा समस्या देखिएको छ । पातारासीका गनबहादुर खत्रीको स्याउ बगैंचामा फूल झरेर भुइँ सेताम्मे छ । पहिले रुखमा फूल सेताम्मे देखिन्थे तर असिनाले झारेपछि हाँगा रित्तै छन् । 

उनले भने, ‘स्याउ फलाउनका लागि निकै मेहनत गरें । असिनाले महिनौंको मेहनत क्षणभरमै सखाप पारिदियो ।’ जुम्लाको तातोपानी, चन्दननाथ, गुठिचौर र पातारासीका स्याउ किसान असिनाबाट प्रभावित बनेका छन् । स्याउ फुलेर चिचिला लाग्दै थियो । हिउँदमा खडेरीले हैरान किसान पछिल्लो समयमा नियमित पानी पर्दा खुसी थिए । 

तर एक्कासी असिना पर्दा बगैंचामा क्षति पुगेको छ । ‘असिनाले फूल मात्र झरेन, स्याउका पात समेत झार्‍यो,’ नुर्बले थपे, ‘जुम्लीको पहिचान पनि स्याउको हो । आम्दानीको प्रमुख स्रोत पनि स्याउ, यही पनि असिनाले सखाप पारिदिएपछि स्याउ किसान मारमा छौं ।’ 

पछिल्लो समयमा पाखाबारीहरु स्याउका विरुवाले भरिएका छन् । गुठीचौरमा असिनाले झण्डै ६० लाख बढीको क्षति पुर्‍याएको वडा कार्यालयको तथ्यांक छ । हिउँ नपर्दा खोलादेखि पानी बोकेर सिँचाइ गरेका किसानहरु अहिले निराश छन् ।

नुर्बको गाउँमा १५ वटा बगैंचा छन् । ति बगैंचाहरु बर्सेनि गाउँमा लाखौं भित्र्याउँछन् । असिना पानी र मौसम अनुसारले क्षति पुगेका विरुवाको गत वर्षसम्म बिमा हुने गरेको थियो । शिखर बिमा कम्पनीले स्याउको बिमा गर्ने गरेको थियो । यो वर्ष बिमा पनि गरिएको छैन । सबैभन्दा बढी क्षति पनि यही वर्ष भयो ।

गुठीचौर २ का वडाध्यक्ष दीपबहादुर ऐडीले असिनाले स्याउ किसान निराश देखिएको प्रतिक्रिया दिए । उनका अनुसार वडाभित्रका कोल्ते, गुठीगाउँ र मुडुरी लगायतका ५ सय ५० घरधुरीमा लगाइएको स्याउ, ओखर, जौं, गहुँ बालीमासमेत क्षति पुगेको छ । 

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार झण्डै १४ प्रतिशत स्याउका फूलहरु नष्ट भएको छ । गत वर्ष जुम्लामा स्याउ बेचेर ६१ करोड ४१ लाख रुपैयाँ भित्रिएको थियो । कार्यालय प्रमुख राम अधिकारीले असिना पानीले क्षति पुगेको विवरण संकलन भइरहेको बताए ।

उनले भने, ‘यो पटक चिचिला लाग्ने समयमा असिना परेर स्याउ सखाप बनायो । हामी दुखी छौं ।’ कृषि विकास कार्यालयको तथ्यांक अनुसार ४ हजार २ सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । जिल्लाका १६ हजार घरधुरीमा स्याउ खेती भइरहेको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully