सल्यान — पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग १६ घन्टा बितिसक्दा पनि खुल्न सकेको छैन । कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै गएको पहिरोले राप्ती राजमार्ग बिहीबार बेलुकी ४ बजेदेखि अवरुद्ध भएको हो ।
राप्ती राजमार्ग अवरुद्ध हुँदा दुई दर्जनभन्दा बढी सवारी साधन सडकमै रोकिएका छन् भने त्यसमा सवार यात्रु अलपत्र परेका छन् । लामो समयदेखि अवरुद्ध सडक नखुल्दा यात्रुलाई सास्ती भएको छ ।
सानो डोजरले तत्काल पहिरो हटाउन नसकेको र रातिको समयमा काम गर्न नसकी त्यत्तिकै छाडेकाले अहिलेसम्म जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । अहिले उक्त स्थानमा पहिरो डोजरले पहिरो पन्छाउने काम गरिरहेको र ठूलो एक्स्काभेटरका लागि पहल भइरहेको उनले बताए । उनका अनुसार राप्ती राजमार्ग अवरुद्ध भएपछि उक्त सडक खण्डमा चल्ने सबै साना सवारी साधनलाई वैकल्पिक मार्ग पाखापानी–कपुरकोट, लुहाम–कालिमाटी–तुलसिपुर हुँदै आउजाउ गर्न लगाइएको छ । वैकल्पिक मार्ग साँघुरो भएकाले ठूला गाडी भने आउजाउ गर्न सकेका छैनन् ।
चोरखोलामा माथिबाट ठूला ठूला ढुंगा र माटो खसेकाले पहिरो हटाउन एउटा डोजरलाई गाह्रो भएकाले सडक खुल्न अझै केही समय लाग्ने उनको भनाइ छ । स्तरवृद्धिको काम भइरहेको चोरखोला आसपासमा बेलाबेलामा जाने पहिरोले यात्रुलाई सधैं सास्ती हुने गरेको उनले बताए ।
