सल्यान — सुख्खा पहिरोका कारण अवरुद्ध रहेको राप्ती राजमार्ग २१ घन्टापछि खुलेको छ । रातिको समयमा काम हुन नसके पनि बिहानैदेखि एक्स्काभेटर, डोजर लगाएर पहिरो पन्छाएपछि २१ घन्टापछि सडक खुलेको हो ।
कपुरकोट गाउँपालिका-३ चोरखोलामा ठूलो सुख्खा पहिरो जाँदा बिहीबार दिउँसो ४ बजेदेखि राप्ती राजमार्ग अवरुद्ध भएको थियो । एक्स्काभेटरले पहिरो पन्छाएपछि ठूला, साना गाडीहरु गन्तव्यतिर लागेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए । उनका अनुसार बिहीबार सम्बन्धित निकायले उपलब्ध गराएको डोजरले सबै पहिरो पन्छाउन नसकेको र रातिको समयमा काम नगर्दा लामो समयदेखि राप्ती राजमार्ग अवरुद्ध बन्न पुगेको थियो ।
जेसीबी, डोजरले पहिरो हटाएपछि यातायात सञ्चालन भए पनि उक्त स्थानमा आउजाउमा कठिनाई भएकाले सजग भएर गाडी चलाउन प्रहरी निरीक्षक खत्रीले गाडी चालकलाई आग्रह गरेका छन् । वर्षात् समयमा मात्र नभई हिउँदमा पनि चोरखोला आसपासमा सुख्खा पहिरो जाने गर्दा यात्रुले विभिन्न किसिमका सास्ती भोग्दै आएको उनको भनाइ छ ।
