कालिकोट — एकीकृत समाजवादी कालिकोटले १७ बुँदे मागसहित नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीको देशव्यापी तीनमहिने संघर्ष कार्यक्रमअन्तर्गत शुक्रबार कालिकोटका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेद्वारा हस्ताक्षरित माग पत्रमा जिल्लावासीले भोग्नुपरेका कठिनाइ उल्लेख गर्दै पूरा गर्न भनिएको छ । खाद्य संस्थानको चामल र साल्ट ट्रेडिङको नुन पालिका स्तरमै उपलब्ध गराउनुपर्ने, ग्रामीण भेगमा नागरिकको मृत्यु हुँदा शव बोकेर सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने, स्थानीय स्तरमै रोजगारी सिर्जनाको वातावरणसहित पढाइ र उपचारका लागि जिल्लाबाहिर जाने अवस्था अन्त्य गर्न र हाल सञ्चालित सडक खण्डमा वर्षायाममा समेत सडक सञ्चालन हुने व्यवस्थासहित यात्रुले राज्यबाट निर्धारित भाडाभन्दा बढी भाडा तिर्नुपर्ने असहजता हटाउन समेत माग गरिएको छ ।
त्यस्तै, सरकारी कार्यालय लामो समयसम्म कार्यालय प्रमुखविहीन भएर हुने समस्या अन्त्यका लागि जोड दिइएको मागपत्रमा कोटबाडा विमानस्थल सञ्चालन, फुकोट र तिला हाइड्रोको काम सुरु गर्नुपर्ने, पान्तडी पक्की पुल र भैंसीगौंडामा बेलीब्रिज समयमै निर्माण गरिसक्न ध्यानाकर्षण गराइएको छ । मागपत्रमा बाल विवाह, बहुविवाहका साथै जातीय विभेद अन्त्यका लागि पनि आवाज उठाइएको छ ।
मागपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सान्दर्भिक माग पेस गरेकामा धन्यवाद दिँदै जिल्ला स्तरबाट सम्बोधन गर्न सकिने माग कार्यान्वयन गर्ने र जिल्लाले गर्न नसक्ने माग प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा तत्काल पठाउने प्रतिबद्धता व्यक्त गरे । उनले वर्षायामको सडक सुधार र गुणस्तरीय काम गर्न र विद्युतीकरणका बाँकी कामलाई गतिदिन पहल भइरहेको सुनाए ।
