सल्यान — सुक्खा पहिरोले राप्ती राजमार्ग बिहीबार दिउँसो ४ बजेदेखि अवरुद्ध भएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा दुई दर्जनभन्दा बढी सवारीसाधन सडकमै रोकिएका छन् भने त्यसमा सवार यात्रु अलपत्र परेका छन् । नजिकै घर भएका केही यात्रु भने हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।
अहिले उक्त स्थानमा एक्स्काभेटर पठाएर पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । उनका अनुसार साना सवारीसाधनलाई वैकल्पिक मार्गबाट आउजाउ गर्न लगाइएको छ । वैकल्पिक मार्ग पनि साँघुरो भएकाले समस्या छ ।
चोरखोलामा माथिबाट ठूला ढुंगा र माटो खसेकाले पहिरो हटाउन कठिनाइ भएको छ ।
