सल्यान — बन्गाड कुपिण्डे नगरपालिका–४ डोप्केस्थित सल्लेरी सामुदायिक वनमा केही दिनअघि डढेलो लाग्यो । डढेलोले १ सय ५० हेक्टर वनमा क्षति पुर्यायो । वनमा लागेको डढेलोले नजिकको बस्ती जोखिममा पर्दा समेत सुरक्षाकर्मी, स्थानीय उपभोक्ताले स्याउलाको भरमा तीन दिन लगाएर वनमा लागेको डढेलो नियन्त्रणमा लिए ।
यस्तै, छत्रेस्वरी गाउँपालिका–१ काल्चे नजिकै काल्चे सल्लेरी सामुदायिक वनमा शनिबार डढेलो लाग्यो । डढेलोले स्थानीयको घरगोठ जलेर खरानी भयो भने थप केही घर जोखिममा परे । हावाहुरी चलेको र भिरालो स्थान भएकाले स्थानीय, जनप्रतिनिधि तथा सुरक्षाकर्मीले डढेलो सहजै निभाउन सकेनन् । डढेलोले ८० हेक्टर वन सखाप भयो । आइतबार सुरक्षाकर्मीले डढेलो नियन्त्रणका लागि स्वाटर र पानी फाल्ने ब्यागको प्रयोग गरे भने स्थानीय उपभोक्ताले विकल्पको रुपमा जंगलकै स्याउला प्रयोग गरे । शनिबार वनमा लागेको डढेलो नियन्त्रणमा लिन नसकेका स्थानीय, सुरक्षाकर्मीले स्याउलाकै भरमा दुई दिन लगाएर वनमा लागेको डढेलो नियन्त्रणमा लिए ।
जिल्लाका सल्लेरी वनमा दैनिकजसो डढेलो लागिरहेको छ । यो वर्षको गत फागुनयता दुई दर्जनभन्दा बढी सामुदायिक वनमा डढेलो लाग्दा एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा रहेका बोटविरुवा लगायत अन्य वस्तु सखाप भएका छन् । केही घरगोठ जलिरहेका छन् भने केही पशुचौपाया समेत मरेका छन् । डढेलोकै कारण एक जनाको मृत्यु भइसकेको छ भने केही सर्वसाधारण घाइते भएका छन् ।
दैनिकजसो वनमा डढेलो लाग्दा स्थानीय, सामुदायिक वनका उपभोक्ता, सुरक्षाकर्मी वनमा लागेको डढेलो निभाउन स्याउलाकै भर पर्दै आएका छन् । सम्बन्धित निकायले अहिलेसम्म दमकल किन्न नसकेका र आगो नियन्त्रणका लागि प्रयोग गरिने औजार, उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्दा स्थानीय उपभोक्ता, सुरक्षाकर्मी वनमा लागेको डढेलो निभाउन स्याउलाकै भर पर्दै आएका हुन् ।
केही दिनअघि नजिकैको वनमा लागेको डढेलो फैलिँदै जाँदा छत्रेस्वरी गाउँपालिका–१ स्थित लालीगुँरास सामुदायिक वनमा डढेलो लागेको र सुरक्षाकर्मीसँग बाहेक अन्यसँग स्वाटर, पानी हाल्ने ब्याग नभएपछि स्याउलाकै भरमा आगो निभाएको उपभोक्ता शेरबहादुर घर्तिले बताए । वनमा प्रत्येक वर्ष डढेलो लाग्ने गरेपनि स्थानीय तहले समेत आगो निभाउन प्रयोग गरिने औजार किन्न नसकेकै कारण ज्यान जोखिममा पारेर स्याउलाको प्रयोग गर्नु परेको उनले बताए । ‘हामीले सामुदायिक वन, वडा हुँदै विभिन्न सम्बन्धित निकायमा औजार माग गर्दै आएको छौँ तर कसैले सहयोग गरेका छैनन्,’ उनले भने ।
शारदा नगरपालिका–११ हिवल्चाको भुवनेस्वरी सामुदायिक वनमा चैतको अन्तिममा डढेलो लागेको र निभाउन प्रयोग गरिने स्रोतसाधन नभएकाले वन आसपासका घरहरु सबै मिली बचाएको त्यसपछि त्यत्तिकै छाडेका अध्यक्ष राजु नेपालीले बताए । भिरालो स्थान भएकाले ज्यान जोखिममा पारेर जान नसक्दा डढेलोले ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा क्षति पुर्याएको उनले जानकारी गराए ।
सुरक्षाकर्मीसँग आगो निभाउने सामग्री पर्याप्त नभएको र भएका पनि वनमा लागेको डढेलो निभाउन सम्भव नभएकाले धेरै समस्या हुँदै आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउँछन् । विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहको आर्थिक सहयोगमा आगो निभाउने दमकल लगायत अन्य सामग्री किन्ने सहमति भएपनि अहिलेसम्म नकिन्दा कसैको घरमा आगलागी भयो भने बाल्टीमा बोकेर लगेको पानीले निभाउनु पर्ने र जंगलमा लागेको डढेलो स्याउलाको भरमा निभाउनु पर्ने अवस्था रहेको उनी बताउँछन् । ‘गत महिना जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा लागेको महोत्सवमा आगलागी भयो । दमकल नभएकाले बाल्टीमा बोकेको पानीले आगो निभाउन सम्भव भएन । लाखौंको क्षति भयो,’ उनले भने, ‘यदि जिल्लामा दमकल भैदिएको भए त्यत्ति धेरै क्षति हुन पाउने थिएन ।’
सामुदायिक वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले सल्यान डढेलोको उच्च जोखिममा भएको थाहा हुँदाहुँदै स्थानीयको लापरबाहीका कारण वनमा डढेलो लाग्ने गरेको र डढेलो लगाउनेलाई सम्बन्धित निकायले कारबाही गर्न नसक्दा समस्या बढ्दै गएको बताए । वनमा प्रत्येक वर्ष डढेलो लाग्दै आएको र त्यसले मानवीय मात्र नभइ धनजनको क्षति हुँदै आएपनि आवश्यक उपकरण, औजार खरिदमा स्थानीय तह लगायत सम्बन्धित निकायले खासै ध्यान नदिँदा धेरैजसो स्थानमा उपभोक्ता आगो निभाउन स्याउला नै प्रयोग गर्न बाध्य हुँदै आएका उनले जानकारी गराए ।
गत फागुनदेखि अहिलेसम्म जिल्लाका दुई दर्जन बढी सामुदायिक वनमा डढेलो लागिसकेको र जसबाट एक हजारभन्दा बढी हेक्टर वनमा क्षति पुगेको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले बताए । डढेलो नियन्त्रण गर्न कार्यालयले विभिन्न औजार खरिद गरेर सव डिभिजन, सुरक्षाकर्मीलाई उपलब्ध गराए पनि त्यो पर्याप्त नभएकाले स्थानीय उपभोक्ता डढेलो नियन्त्रणका लागि स्याउलाको प्रयोग गर्नु परेको उनले जानकारी दिए । ‘वनमा लाग्ने डढेलो नियन्त्रणका लागि कार्यालयले मात्र केही गर्न नसक्ने हुँदा स्थानीय तह, सामुदायिक वनले चासो दिन आवश्यक छ,’ उनले भने । डढेलो तथा घर आगलागी हुनबाट बचाउन विपद् व्यवस्थापन समितिको बैठकमा दमकल र विभिन्न औजार खरिद गर्ने सहमति भएको र स्थानीय तह, सामुदायिक वनसँग मिलेर प्रत्येक पालिकामा डढेलो नियन्त्रण समिति गठन गरेको उनको भनाइ छ ।
