वीरेन्द्रनगर — कर्णालीमा भाषिक तथा गणितीय सम्मेलन गरिएको छ । विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सीप सिकाईको अवस्था कमजोर रहेको अवस्थामा कर्णालीमा सम्मेलनको आयोजना गरिएको हो ।
विभिन्न सिकाई परीक्षण मूल्यांकनले अधिकांश विद्यार्थीहरुले पाठ्यक्रममा निर्धारण गरिएको सिकाई उपलब्धि हासिल गर्न नसकेका जनाएका छन् ।
आधारभूत भाषिक तथा गणितीय सीप विद्यार्थीको शैक्षिक यात्रामा महत्त्वपूर्ण प्रभाव पार्छ । यसको कमीले विद्यार्थीको शैक्षिक गतिविधिमा सक्रिय सहभागिता, प्रस्तुति, रचनात्मक अभिव्यक्तिमा संलग्नता र विद्यार्थीको आत्मविश्वास र सिक्ने उत्पेरणामा पनि नकारात्मक असर पुर्याउँछ । तर, विद्यार्थीमा यो सीप सिकाई कमजोर छ ।
विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सीप सिकाई स्तर कमजोर रहेको तथ्यलाई आधार मान्दै कर्णालीमा आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी सम्मेलन आयोजना गरिएको हो । आधारभूत भाषिक तथा गणितिय सीपको महत्त्व तथा सिकाई परीक्षणका नजिताबारे छलफल र जानकारी गराउने, सिप सुधार केन्द्रित गरिएका असल अभ्यासबारे प्रस्तुति गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
स्ट्रिट चाइल्ड अफ नेपाल, आस्मान नेपालको सहयोगमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो ।
सिकाई स्तरमा आधारित शिक्षण पद्धति (ट्राल) रणनीति, कार्यान्वयन प्रक्रिया, अनुकूलन तथा अपनाइएका विधिहरुबारे जानकारी दिन र प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरूलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी क्रियाकलापहरूको प्राथमिकीकरण तथा विस्तारबारे उत्प्रेरित गर्दै पैरवी गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ ।
कक्षा ३ को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) –२०२० को प्रतिवेदन अनुसार ८.४१ प्रतिशत विद्यार्थीहरुले मात्र हासिल गर्नुपर्ने तह वा कक्षा अनुरुपको सिकाई दक्षता हासिल गरेका छन् । १० प्रतिशत विद्यार्थीहरुले एउटा शब्द पनि शुद्धसँग पढ्न नसकेको प्रतिवेदनले देखाएको छ । कक्षा ८–नासा प्रतिवेदन २०२० अनुसार गणितमा ३२.१, विज्ञानमा ३७.७, नेपालीमा ५८.८ र अंग्रेजीमा ५१.५ प्रतिशत विद्यार्थीले आधारभूत दक्षतास्तर पार गरेको छन् ।
अधिकांश विद्यार्थीको सिकाई उपलब्धि कमजोर छ । सिमित विद्यार्थीहरुले मात्रै सिकाई दक्षता हासिल गरेका छन् । विद्यार्थीहरुले आधारभूत सिकाईमा ध्यान पुर्याउन नसक्दा सिकाईस्तर सुधार गर्न कठिनाई छ । यसले विद्यालय छोड्ने दर बढाएको छ ।
पुरानै पाठ्यक्रम, प्रविधिसँग जोड्ने खालका सिकाई सामग्री नहुनु, शिक्षक दरबन्दी मिलान नहुनु र शिक्षकको क्षमता विकास गर्ने शैली नै परम्परागत हुँदा विद्यार्थीको सिकाई कमजोर बन्न पुगेको गाउँपालिका महासंघ कर्णालीका अध्यक्ष निमबहादुर केसीले बताए । अहिलेको बदलिँदो प्रविधिको युगलाई सुहाउँदो शिक्षण सिकाई पद्धति अपनाउनुपर्ने केसीको भनाइ छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले शिक्षामा लगानी, सिकाई पद्धतिहरुको प्रभावकारी कार्यान्वयनको चरणलाई बलियो बनाउन सके विद्यार्थीको सिकाईस्तर सुधार हुने बताए ।
सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास महाशाखाका प्रमुख सुवर्णकुमार खड्काले विद्यार्थीहरुमा आधारभूत भाषिक तथा गणितीय सिप कमजोर रहेको बताए । परम्परागत शिक्षक सिकाई पद्धति नै यसको प्रमुख चुनौती रहेको उनको भनाइ छ ।
‘सिकाईस्तर सुधार गर्न विद्यार्थी केन्द्रित शिक्षण सिकाई विधि अबको आवश्यकता हो,’ उनले भने, ‘विद्यालय तहबाट विद्यार्थीको सिकाईस्तर सुधार गर्ने योजना भन्दा पनि फिल्ड, भवन निर्माण, मर्मत, घेरबार जस्ता योजनालाई उच्च प्राथमिकता दिई माग भई आउने गरेको छ ।’ विद्यालय तहबाटै विद्यार्थीको सिकाई सुधारका लागि सोच्नुपर्ने खड्का बताउँछन् ।
गुर्भाकोट नगरपालिकाकी उपप्रमुम मैना विकले विद्यार्थीको सिकाईस्तर कमजोर हुनुमा शिक्षकको कमजोरी रहेको बताइन् । ‘अभिभावकदेखि नीति निर्माण तहले यस विषयमा गम्भिर रुपमा सोच्नुपर्ने हुन्छ, सबै विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पनि समस्या छ,’ उपप्रमुख विकले भनिन् ।
विज्ञान तथा प्रविधि मन्त्रालय अर्न्तगत बनेको सिकाई आपूरण तथा द्रूत सिकाई योजना कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले परियोजना अर्न्तगत सिकाईस्तर अनुसार शिक्षण पद्धति कार्यान्वयन गर्दै कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुको आधारभूत भाषिक तथा गणितीय सीप सुधारको लक्ष्यसहित सिकाई आपूरणका क्रियाकलाप सञ्चालन भएको स्ट्रिट चाइल्ड अफ नेपालका कन्ट्री डाइरेक्टर क्षितिज बस्नेतले बताए ।
यी प्रयासहरूमार्फत परियोजनाले गुणस्तरीय र पहुँचयुक्त शिक्षालाई प्रवर्द्धन गर्दै दीर्घकालीन, प्रणालीगत परिवर्तनमा मद्दत पुर्याउने लक्ष्य लिएको छ ।
परियोजनाले कर्णाली र मधेश प्रदेशका ६ सय सामुदायिक विद्यालयका ३६ हजार भन्दा बढी बालबालिकाहरूलाई सहयोग प्रदान गर्दै एक हजार आठ सय शिक्षकहरूको क्षमता विकासमा मद्दत पुर्याउने कन्ट्री डाइरेक्टर बस्नेत बताउँछन् । आधारभूत सिकाई सुधार वा आपूरण गर्न विधार्थी केन्द्रित सिकाई पद्दति कार्यान्वयन गर्ने, विद्यालयका शिक्षकहरूको क्षमता विकास गर्दै विद्यार्थीको सिकाईमा मद्दत पुर्याउने तथा दीर्घकालीन गुणस्तरीय सिकाईको लागि तथ्यमा आधारित पैरवी गर्ने परियोजनाको प्रमुख उद्देश्य रहेको उनले बताए ।
