जुम्ला — सदरमुकाम खलंगामा प्रादेशिक कृषि पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा १० दिने महोत्सव सुरु भएको हो । महोत्सवमा स्थानीय सामाग्रीको मात्रै प्रदर्शन, प्रवर्द्धन र बजारीकरण हुने आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले गरे । यो महोत्सवले कर्णालीको कृषि पर्यटनलाई टेवा पुग्नुका साथै सांस्कृतिक तथा औद्योगिक हिसाबले पनि राम्रो सन्देश फैलाउने उनको जिकिर छ । उनले भने, ‘स्थानीय उत्पादनको प्रचारप्रसार,पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणको लागि महत्त्वपूर्ण भूमिका निभाउनेछ ।’ उनका अनुसार महोत्सवमा धेरैभन्दा धेरै अवलोकनकर्ताहरु सहभागी गराउने तयारी भइरहेको छ ।
महोत्सवमा कर्णालीका कलाकारहरुको मात्रै सहभागिता हुनेछ । जसले स्थानीय संस्कृतिको समेत उजागार हुने उद्योग वाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा देउडा गायक नवराज भण्डारी, विपना सिंह,सम्झना अधिकारीको प्रस्तुति रहनेछ । योसँगै जुम्ला घर भइ काठमाडौंमा कर्मथलो बनाएका कलाकारहरु पनि आउने छन् । जिल्लाभित्र रहेका प्रतिभाहरुको समेत प्रतिनिधित्व हुने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष देवकोटाले बताए । 'यो महोत्सवमा स्थानीय स्वाद चखाउने जमर्को गरिएको छ,' उनले भने, ‘जसले गर्दा रैथाने संस्कृति र संस्कारको परिचय दिनेछ ।’
महोत्सवमा २२ वटा स्टल राखिएको छ । पहिलो दिन पाँच वटा स्टलमात्रै सञ्चालनमा आएका छन् । आयोजकका अनुसार २२ वटै स्टल बुकिङ भइसकेका छन् । अध्यक्ष देवकोटाले भने,‘दुई होटल छन् । सबै रैथानेबालीहरुको परिकार राखिने छन ।’ स्थानीय उद्योग, रैथानेबाली, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको हो ।
पहिले सीमाचौर र नेपाली सेनाको टुँडिखेल मैदानमा महोत्सव आयोजना गरिएपनि यो पटक कभर्ड हलको मैदानमा महोत्सव गरिएको हो । सिमाचौरमा रंगशाला बन्दै गरेको र सेनाले मैदान नदिएकोले बाध्य भएर कभर्डहलको मैदानमा महोत्सव सुरु भएको अध्यक्ष देवकोटाले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले महोत्सवले कर्णालीको सम्भावना उजागार गर्ने बताए ।
