कनकासुन्दरीमा शिक्षकलाई खाजा खर्च, प्रधानाध्यापकलाई भत्ता

शैक्षिक गुणस्तरमा सुधार, शिक्षक-विद्यार्थीकै नियमित उपस्थिति बढ्यो

वैशाख १४, २०८२

डीबी बुढा

In Kanakasundari, lunch expenses for teachers, allowances for headmasters

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकाले शिक्षकलाई प्रत्येक दिन ५० रुपैयाँ खाजा खर्चस्वरुप प्रदान गरिरहेको छ । गत असार महिनादेखि शिक्षकलाई खाजा खर्चका लागि ५० रुपैयाँ दिन थालिएको हो । विद्यालयमा रहेका शिक्षक, कार्यालय सहयोगी र कर्मचारीलाई खाजा खर्चको प्रबन्ध गरिएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले जानकारी दिए । 

उनका अनुसार हरेक विद्यालयका प्रधानाध्यापकलाई प्रशासनिक भत्ताको व्यवस्थासमेत गरिएको छ । माध्यमिक तहमा ५ सय रुपैयाँ, आधारभूत तहमा २५० र प्राथमिक तहमा २ सय रुपैयाँ प्रशासनिक खर्च उपलब्ध गराइएको छ । 

कनकासुन्दरीमा २७ विद्यालय छन् । ४३३ जना शिक्षक कर्मचारी रहेका छन । उनीहरु सबैले खाजा खर्च पाइरहेका छन् । २७ जना प्रधानाध्यापकले प्रशासनिक खर्च पाइरहेका छन् । गाउँपालिका अध्यक्ष आचार्यले शिक्षकहरुको मनोबल उच्च बनाइराख्न खाजा खर्चको व्यवस्था गरिएको बताए । 

‘जबसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सकिँदैन, तबसम्म दक्ष जनशक्ति उत्पादन गरेर अघि बढ्न सकिँदैन,' उनले भने, 'शिक्षकहरुमा उत्साह छाओस् भनेर यो व्यवस्था गर्‍यौं ।’ विद्यार्थीले दिवा खाजा खाए पनि शिक्षकले दिनभर भोकै पढाउनुपर्ने बाध्यता रहेको उनले बताए । पालिकाले विद्यालय स्तरमा गहन अध्ययन गरेर खाजा खर्चको व्यवस्थापन गरेको उनको भनाइ छ ।

विद्यालयमा गुणस्तर कायम गर्न पटकपटक अनुगमन हुने गरेको छ । पहिलो चरणमा अनुगमन गर्दा शिक्षकहरुले पनि समस्या भोगिरहेको देखिएपछि पालिकाले खाजा खर्च दिने गरेको हो । 'पहिले शिक्षकहरु विद्यालय नजाने, ४५ मिनेट पनि नपढाउने समस्या थियो । हरेक बस्तीमा अभिभावक शिक्षा दियौं । शिक्षकलाई खाजा खर्चको व्यवस्था गर्‍यौं,' शिक्षा शाखामा कार्यरत जीवन रोकायाले भने, ‘अहिले पहिलेको भन्दा निकै सुधार देखिएको छ ।’

In Kanakasundari, lunch expenses for teachers, allowances for headmasters

अनुगमनका क्रममा ७ जना शिक्षक निगरानीमा थिए । उनीहरुलाई पालिकामा बोलाएर स्पष्टीकरण सोधेपछि अहिले नियमित छन् । पहिले मनलाग्दी बिदा बस्दा विद्यालयमा उपस्थिति निकै कम थियो । अहिले शिक्षकहरु प्रधानाध्यापकले बिदा स्वीकृत नगर्दासम्म बिदा बस्न पाउँदैनन् ।

कनकासुन्दरीले १० वर्षे शिक्षा रणनीति योजना बनाएको छ । यो वर्ष शिक्षा क्षेत्रमा विनियोजित २५ लाख रुपैयाँमा ७५ प्रतिशत बजेट क्षमता विकास तालिममा खर्चिएको छ । ७ वटा विद्यालयमा स्मार्टबोर्ड जडान गरिएको छ । ७ जना आईटी शिक्षक नियुक्त गरेको पालिकाले जनाएको छ । अहिले कनकासुन्दरीका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा छन् । विद्यालयमा नियमित उपस्थिति रहेको विद्यालयहरूले जनाएका छन् ।

कनकासुन्दरी माविका पूर्वअध्यक्ष दीपेन्द्रप्रसाद उपाध्यायले प्रोत्साहनस्वरुप दिइएको भत्ताले राम्रो काम गरिरहेको बताए । उनले भने, ‘शिक्षकले तलबभत्ता मात्रै पाइरहेका छन् । अन्य कुनै सुविधा पनि छैन । तर पालिकाले खाजा खर्च दिएर शिक्षकहरुको सम्मान गरेको छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully