प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा डिजिटल एक्सरे सेवा सुरु

वैशाख १३, २०८२

विप्लव महर्जन

Digital X-ray service started at Primary Health Center Tharmare

सल्यान — जिल्लाको बाग्चौर नगरपालिका–२ थारमारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले डिजिटल एक्सरे सेवा सुरु गरेको छ । 

मन्त्रालयले मेसिन उपलब्ध गराएपछि पालिकाबासीले जिल्ला अस्पताल तथा निजी अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न डिजिटल एक्सरे सेवा सुरु गरेको हो ।

डिजिटल एक्सरे सेवा सुरु गरेपछि स्थानीय लाभान्वित भएका छन् । सामान्य एक्सरे सेवाका लागि पनि निजी अस्पताल तथा पोलिक्लिनिक धाउन बाध्य हुँदै आएका स्थानीयलाई अब धेरै राहत हुने भएको छ । 

दुई दशक अघि सञ्चालनमा आएको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य खालको एक्सरे मेसिन भए पनि प्राविधिक नभएका कारण सेवा सञ्चालनमा आउन नसक्दा नागरिक प्रभावित भैरहेका बेला माग गरे अनुसार स्वास्थ्य मन्त्रालयले मेसिन उपलब्ध गराएपछि डिजिटल एक्सरे मेसिन जडान गरेर सेवा सुरु गरेको बाग्चौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बताए । 

विगतमा विभिन्न किसिमका कष्ट उठाउँदै आएका पालिकावासीले आगामी दिनमा एक्सरे सेवाको लागि बाहिर जान नपर्ने उनले जानकारी गराए । दक्ष जनशक्तिको व्यवस्था गरेर प्राथमिक स्वास्थ्य केन्द्रलाई १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ । 

स्वास्थ्य मन्त्रालयले दिएको डिजिटल एक्सरे मेसिनले उपचारका लागि आएका बिरामीलाई उपचारमा सहज हुने प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज हिमाल भण्डारीले बताए । बिरामीको एक्सरेको काम भइरहे पनि रेडियोग्राफर नभएकाले अहिले तालिमको लागि पठाएको उनले जानकारी गराए । उनका अनुसार डिजिटल एक्सरे मेसिन आएपछि आएका बिरामीलाई अब त्यत्तिकै फर्काउन नपर्ने भएको छ ।

दुई दशकअघि सञ्चालनमा आएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगतमा पटक पटक डाक्टर आएका र छोटो समय बसेर अध्ययनका लागि जाने गरेका र फर्केर नआउँदा डाक्टरको अभाव भने झेल्दै आएको उनको भनाइ छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully