गाडीको ठक्करबाट मृत्यु भएका कालिबहादुरका आफन्तद्वारा शनिबार पनि प्रदर्शन

वैशाख १३, २०८२

तृप्ति शाही

Demonstration by the relatives of Kali Bahadur who died in a car collision on Saturday

वीरेन्द्रनगर — गाडीको ठक्करबाट मृत्यु भएका जुम्लाका कालिबहादुर बुढाका आफन्तले शनिबार पनि बिहानैदेखि प्रदर्शन जारी राखेका छन् ।

उनीहरूले वीरेन्द्रनगरको ऐरीचोकमा टायर बालेर सडक अवरूद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । शुक्रबार पनि दिनभर सडक अवरूद्ध गर्दै प्रदर्शन गरेका थिए ।

जुम्लाको हिमा गाउँपालिका-४ का ५५ वर्षीय बुढाको वैशाख ७ गते वीरेन्द्रनगर सुर्खेतको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको फोर्स गाडीले ठक्कर दिएको थियो । प्रदेश अस्पताल पुर्‍याइएका उनलाई डाक्टरले मृत घोषणा गरे ।

ऐरीचोकमा सयौंको संख्यामा जम्मा भएर आन्दोलन गरिरहेका छन् । मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलन संघर्ष समिति संयोजक छत्रबहादुर शाहीले जानकारी दिए ।

सम्बधित निकायको बेवास्ताका कारण आफूहरू सडकमा आउनुपरेको उनले बताए । मंगलबार र बुधबार निरन्तर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छलफल भए पनि निष्कर्ष निस्केन ।

प्रहरीले गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका-१ का २४ वर्षीय तेज थामीमगरलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । परिवारले मृतकको शव अझै बुझेका छैनन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully