मौरीपालनमा उत्साहित किसान

वैशाख १३, २०८२

डीबी बुढा

A farmer passionate about beekeeping

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ मर्फानगाउँका चन्द्रबहादुर भण्डारीको अधिकांश समय मौरीको रेखदेख र संरक्षणमै वित्छ । उनका ३५ घार छन् । सबैघारमा मौरी छन् ।

मौरीको भुनभुनले उनलाई खुसी मिल्छ । मौरीपालन गरेर मह बेच्ने त उनको कर्म नै हो । त्यो भन्दा बढी मौरीपालन गरेर पर्यावरणमा सुन्दरता थप्ने पनि उनको प्रयास छ । 

पहिले मौरीपालनको ज्ञान नहुँदा निकै ठूलो नोक्सानी बेहोरेका चन्द्रबहादुर अहिले मौरीको अभिभावक जस्तै बनेका छन् । लाग्छ उनी मौरीघारको नजिक गएनन् भने मनमा शान्ति हुँदैन । उनी बर्सेनि एक लाख रुपैयाँ सम्मको मह बिक्री गर्छन् । उनको मौरीपालन गर्ने सीपको गाउँभरी नै चर्चा हुने गरेको छ ।

बुम्र गाउँका जयबहादुर बुढा पनि कहलिएका मौरीपालक किसान हुन् । बिहान बेलुकी मौरी घारमै समय बिताउने उनी अहिले व्यवसायिक मौरीपालनमा जमेका छन् । उनका २४ वटा घार छन् । परम्परागत मौरीपालन गर्दै आइरहेका जयबहादुर अहिले व्यवसायिक मौरीपालनमा अग्रसर देखिएका छन् । 

उनका अनुसार पछिल्लो समयमा खाना नै मौरीका लागि मुख्य चुनौती बनेको छ । बर्सेनि मह बेचेर उनले परिवारको गुजारा चलाइरहेका छन् । उनको वार्षिक आम्दानी ५० हजारदेखि एक लाख रुपैयाँसम्म हुने गरेको छ । ‘मौरीपालनमा चुनौती त धेरै छन्,’ उनले भने, ‘यसबाट किसानले पनि मनग्गे आम्दानी लिइरहेका छन् ।’

१८ वर्षदेखि नियमित मौरीपालनमा सक्रिय अर्का जगबहादुर भण्डारीको मौरीपालनप्रतिको मेहनत र लगाव हेर्दै लोभलाग्दो छ । उनका २२ घार छन् । मौरी भन्ने वित्तिकै हुरुक्क भइहाल्ने उनी अहिले मौरीपालनका विषयमा अन्य किसानलाई पनि हौस्याइरहेका छन् । उनले भने, ‘जहाँ सम्म मौरी रहन्छन् तब सम्म मानव अस्तित्व रहन्छ । मौरी रहने छैन त हामी पनि रहनेछैनौं ।’

मौरीपालनमा किसानको लगाव बढी देखेपछि कनकासुन्दरी १ ले मौरीपालनको पाँच दिने आधारभूत सीप दिएको छ । कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव नारायणप्रसाद चौलागाईले मौरीपालनबारे किसानलाई अवगत गराए । उनले भने, ‘मौरीपालनमा दुर्गमका किसानको मेहनत अत्यन्तै लोभ लाग्दो छ । तर पर्याप्त खाना र अपरिचित रोगको संक्रमणले किसानलाई मौरी बचाउन कठिन छ ।’

गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङ बारे उनले किसानलाई प्रशिक्षण दिए । सो अवसरमा किसानलाई मौरीको मह संकलन गर्ने बाल्टी र रोगकिराबाट बचाउन जाली समेत प्रदान गरियो । प्रशिक्षक समेत रहेका चौलागाईले भने, ‘जुम्लामा मौरीपालनप्रति किसानको मोह अधिक छ । पर्याप्त ज्ञान र स्रोत साधनको अभावमा निकै चुनौती पनि छ ।’

कनकासुन्दरी १ का वडाध्यक्ष भीमबहादुर भण्डारीले मौरीपालनबाटै जिविका चलाउने किसानको संख्या थपिँदै गएको बताए । उनले भने, ‘मौरीपालनमा किसानको चासो त छँदैछ । अब मह उत्पादन र गुणस्तर बृद्धि प्राथमिकताको विषय हो ।’ पहिलो चरणमा एक लाख बजेट छुट्याएर किसानलाई मौरीपालन सीप र सामग्री दिइएको हो । वडाका अधिकांश गाउँहरु मौरीपालनमा अग्रणी छन् ।

उनले भने,‘ वडा नै मौरीपालन पकेट क्षेत्रका रुपमा घोषणा गर्ने तयारी भइरहेको छ । जसका लागि किसानलाई दक्ष बनाइँदैछ ।’ हरेक किसानसँग न्युनतम ५ देखि अधिकतम २५ घारसम्म मौरीपालन गरिएको छ । वडाभर ५०४ मौरीघार रहेको तथ्यांक उनले प्रस्तुत गरे ।

पहिलोपटक वडाका १० गाउँका २० जना किसान भेला गरेर मौरीका बारेमा गन्थन सुरु भएको हो । वडाध्यक्ष भण्डारीले भने, ‘मौरीपालन यहाँका मुख्य व्यवसाय जस्तै हो । अब मह प्रशोधन र बजारीकरणका लागि वडासरकार जुटेको छ ।’ अहिले नाग्म गमगडी हुँदै राराताल जाने र फर्कने आन्तरिक तथा बाहृय पर्यटकहरुले मह किनिरहेका देखिन्छन् । केहीले सदरमुकाम खलंगासँग सिधैं सम्पर्क गरेर मह पठाउने गरेका छन् । महका प्रतिकेजी बजार मूल्य २ हजार पाँच सय रुपैयाँ छ ।

जुम्लामा सेराना जातको मौरी पालिन्छ । जिल्लाको एक नगरपालिका लगायत ८ वटै स्थानीयतहमा मौरीपालन हुने गरेको छ । यहाँको मह काठमाडौं, सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा र स्थानीय बजारमा पुग्ने गरेको छ । कर्णाली मौरीपालनको तथ्यांक अनुसार जिल्लाका ८ हजार ४ सय मौरीघार छन् । वर्षमा ५० हजार केजी मह उत्पादन हुने र जसबाट झण्डै १२ करोड रुपैयाँ वार्षिक रुपमा आम्दानी हुने गरेको कर्णाली मौरीपालन सहकारीको तथ्यांक छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully