डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु

वैशाख १२, २०८२

रामचन्द्र न्यौपाने

Two people died in Dolpa after falling from Bhir

डोल्पा — डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। ठुलीभेरी नगरपालिका-४ मा पर्ने तिप्ला तातोपानी जोड्ने बाटोबाट लडेर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका-३ बस्ने अन्दाजी ३३ वर्षीया पार्वती घर्ती र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका -३ बस्ने १८ वर्षीय किरण भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार ‘घटनाका बारेमा बिहीबार बिहानमात्र प्रहरीलाई खबर आएको थियो। 'खबर आउनेवित्तिकै प्रहरी पुग्यो। मृतकहरूको शव संकलन गरेर जिल्ला अस्पतालमा पुर्‍यायो,’ उनले भने। 

प्रहरीका अनुसार मृतक दुबैजना मजदुर हुन् । हाल तिप्ला गाउँ जोड्ने खानेपानी आयोजनामा काम गर्दै थिए । यस अघि तिप्ला तातोपानी जोड्ने सडकमा काम गर्थे । उतिबेला घटनास्थलको नजिकै रहेको वडारमा बस्ने गर्थे । बन्दोबस्तीका सामानहरु पनि त्यसै ओडारमा राखेका थिए ।

तिनै बन्दोबस्तीका सामानहरु लिएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिला महिला चिप्लिन् । त्यसपछि उनैलाई बचाउँछु भन्दा युवक पनि भिरबाट चिप्लिएर लडेका थिए। उनीहरु दुबैजना करिब चार मिटर तल खसेको र शरीरभरि नै चोटैचोट रहेको प्रहरीले जनाएको छ ।

मृतक दुबैजनाको शव संकलन गर्न करिब दुई घन्टा लागेको प्रहरीले जनाएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully