सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइते

वैशाख १२, २०८२

विप्लव महर्जन

Force vehicle accident in Salyan, five injured

सल्यान — सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। रुकुम पश्चिमबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ६२७१ नम्बरको फोर्स गाडी शुक्रबार बिहान १० बजेतिर बागचौर नगरपालिका–५, धारपानी नजिकै राप्ती राजमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घाइते हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ का ४२ वर्षीय डम्मर विक, चौरजहारी नगरपालिका–१४ का २२ वर्षीय हर्कबहादुर विक, ३० वर्षीय लोकेन्द्र केसी, त्रिवेणी गाउँपालिका–८ का २० वर्षीय हितेसी खड्का र ७ वर्षीय कपिल खड्का रहेका छन्।

दुर्घटनामा परी घाइते भएका सबैलाई स्थानीय, यातायात व्यवसायी र प्रहरीद्वारा तत्काल उद्धार गरी सहज पोलिक्लिनिक, बागचौरमा उपचारका लागि ल्याइएको र सबैको त्यहीँ उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए। उनका अनुसार फोर्स गाडी अनियन्त्रित भई सडकमै दुर्घटनामा परेको थियो। गाडीमा १३ जना सवार थिए।

गाडी चालक बागचौर नगरपालिका–४ का ३५ वर्षीय इन्द्र ओली फरार रहेको र उनको खोजी भइरहेको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको खत्रीको भनाइ छ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully