जुम्ला — गाडीको ठक्करबाट आइतबार मृत्यु भएका ५५ वर्षीय कालीबहादुर बुढाको शव आफन्तले बुझ्न मानेका छैनन् । जुम्लाको हिमा गाउँपालिका-४ का ५५ वर्षीय बुढाको वैशाख ७ गते वीरेन्द्रनगर सुर्खेतको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको गाडीले ठक्कर दिएको थियो ।
क्षतिपूर्ति नपाएको भन्दै मृतकका आफन्त तथा परिवारले शव जलाउन मानेका छैनन् । उनीहरुले जुम्ला कालिकोटको सिमाना नाग्म बजार र वीरेन्द्रनगरमा आन्दोलन गरेका छन् ।
आन्दोलनका कारण कर्णाली राजमार्गमा चल्ने ठूला साना सवारी चल्न पाएनन् । पटक-पटक क्षतिपूर्तिका बारेमा वार्ता भए पनि कुरा नमिलेपछि वीरेन्द्रनगरको यारीचोक र जुम्लाको नाग्म ठप्प छ । उनीहरुले शान्तिपूर्ण तरिकाले आन्दोलन गरेका छन् भने ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।
आन्दोलन संघर्ष समितिका संयोजक छत्रबहादुर शाहीले क्षतिपूर्ति पाउनुपर्ने बताए । उनका अनुसार मृतकका आफन्तका दुई माग छ । ‘यो घटना नभई हत्या हो, त्यसैले हत्यारालाई कारबाही गरिनुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरिएको छ ।’
मंगलबार र बुधबार निरन्तर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छलफल भए पनि निष्कर्ष निस्केन । कानुनले तोकेबाहेक क्षतिपूर्ति दिन नसकिने गाडी व्यवसायीले बताउँदै आएका छन् । परिवारका अनुसार आइतबार बिहान साढे ६ बजे जुम्ला आउन कालीबहादुर चोकमा निस्किएका थिए । विपरीत दिशाबाट आएको गाडीले रत्न राजमार्गअन्तर्गत रेडियो नेपाल नजिकै उनलाई ठक्कर दिएको थियो । उनलाई तत्काल अस्पताल पुर्याइएकोमा चिकित्सकले घटनास्थलमै मृत्यु भइसकेको बताएका संयोजक शाहीको दाबी छ । ‘हामीलाई झुक्याउन अस्पतालमा मरेको भनियो, त्यो होइन,’ उनले भने ।
संघर्ष समितिका संयोजक शाहीका अनुसार गाडी मालिक सम्पर्कमा छैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका-१ का २४ वर्षीय तेज थामीमगरलाई नियन्त्रणमा लिएको बताए । यदि माग सम्बोधन नभएको खण्डमा आन्दोलन थप चर्किने उनले चेतावनी दिए । 'शनिबारदेखि हामी चरणबद्ध आन्दोलनको घोषणा गर्छौ,’ उनले भने, ‘माथि जुम्ला–कालिकोटको सिमाना नाग्ममा पनि आन्दोलन भएको छ । त्यत्तिकै हामी छाड्दैनौं ।’
जुम्लाबाट प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित सांसद तथा नेताहरूले समेत विज्ञप्ति निकालेर घटनाबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
कांग्रेस प्रदेश कमिटीका सभापति ललितजंग शाहीले न्यायका लागि गरेको शान्तिपूर्ण आन्दोलनमा सत्ता र शक्तिको प्रयोग गरेर पीडितलाई न्याय दिने कता हो कता उल्टै धरपकड गरेको बताए । ‘पीडितका आफन्तजनहरूलाई थप मानिसक यातना दिनेजस्ता अत्यन्तै निन्दनीय कार्य र गैरजिम्मेवार शैली देखिन्छ,’ उनले भनेका छन् ।
प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही, विनिता कठायत, प्रदेशसभा सदस्य टेकराज पछाईंले पनि पीडितको पक्षमा विज्ञप्ति जारी गरेका छन् ।
हिमा गाउँपालिकाले पनि विज्ञप्ति निकालेर पीडित परिवारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।
