माछा मार्न गएका पुरुषको मृत्यु

वैशाख ९, २०८२

विप्लव महर्जन

Death of a fishing man

सल्यान — गएराति शारदा नदीमा करेन्ट लगाई माछा मार्न गएका एक पुरुषको मृत्यु भएको छ। माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर लडेका छत्रेश्वरी गाउँपालिका–७ का सन्तोष बिष्टको मृत्यु भएको हो।

माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर पानीमा डुबेका बिष्टको तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको र अहिलेसम्म पोष्टमार्टम नभएकाले मृत्युको स्पष्ट कारण भन्न नसकिने खत्रीले बताए। उनका अनुसार गएराति सन्तोषसहित पाँच जना शंखमूलस्थित शंखपार्क नजिकैको शारदा नदीमा माछा मार्न गएका थिए।

बिष्टको मृत्युपछि उनका साथमा रहेका चार जनालाई इलाका प्रहरी कार्यालय लुहामले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully