सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूँजीगत बजेट कार्यान्वनको गति बढाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षामा मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयमा बाँकी अवधि महत्त्वपूर्ण हुने भएकोले बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका हुन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । मुख्यमन्त्री कँडेलले सुशासन र बजेट कार्यान्वयनमा अथक प्रयास गरे पनि सन्तुष्टि मिल्ने गरी प्रगति हासिल गर्न नसकिएको तर्फ मन्त्री तथा सचिवहरुको ध्यानाकर्षण गराए ।
उनले भने, ‘हामीले साउनदेखि जुन हिसाबले मेहनत गरिरहेका छौं । तर मेहनतको प्रतिफल प्राप्त गर्न सकेनौं ।’ आफना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय कामहरु अलपत्र परेको बताउँदै मुख्यमन्त्री कँडेलले सरकारी काम भए पनि ताकेत गर्न छोड्न नहुनेमा जोड दिए ।
मुख्यमन्त्री कँडेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नसमेत निर्देशन दिएका छन् । उनले परम्परागत बजेट र कार्यक्रमभन्दा जनतालाई अनुभूति हुने गरि बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।
