जुम्लामा सरसफाइ सम्मेलन, ११ बुँदे घोषणापत्र जारी

चालु आर्थिक वर्षमै जुम्लाको खानेपानी विकासमा करोडौं बजेट पठाउने खानेपानीमन्त्रीको प्रतिबद्धता

वैशाख ८, २०८२

डीबी बुढा

Sanitation conference in Jumla, 11 point manifesto issued

जुम्ला — जुम्लामा ११ बुँदे घोषणापत्र जारी गर्दै पहिलो वास सम्मेलन सकिएको छ । जिल्लाको हिमा, सिञ्जा र कनकासुन्दरीको समन्वयमा हिमा गाउँपालिका-१ द्यारगाउँमा वास सम्मेलन आयोजना गरिएको थियो । वास सम्मेलनमा खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी थिए ।

सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले जुम्लाको खानेपानी विकासमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘चालु आर्थिक वर्षभित्रै जुम्लाको खानेपानी विकासमा करोडौं बजेट पठाउने योजनामा छौं ।’ उनले बजेट अभावमा खानेपानीका कुनै पनि आयोजना अलपत्र नहुने समेत दोहोर्‍याए । 'तपाईं डीपीआर बनाएर पठाइदिनुस् । हामी आयोजनाको स्रोत सुनिश्चित गरेर पठाइदिने छौं,' मन्त्री यादवले भने, ‘जुम्ला खानेपानीको स्रोतमा धनी छ । अब खानेपानीमा सरकारी लगानी बढ्छ ।’

वास सम्मेलनले तीनवटै स्थानीयतहको खानेपानी तथा सरसफाइको अवस्था दर्शाएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । उनका अनुसार सम्मेलनले स्थानीय तहमा भइरहेका खानेपानी तथा सरसफाइका क्रियाकलापको उजागार गर्नुको साथै समस्या र चुनौती पनि पहिचान गरेको छ ।

घोषणापत्रमा सबै पालिकामा खानेपानी योजनालाई सहायता केन्द्रका रुपमा स्थापित गर्ने र मर्मतसम्भार कोषको व्यवस्था गर्ने उल्लेख छ । एक घर एक धारा, एक घर एक सुधारिएको शौचालय निर्माण अभियानलाई तीव्र पार्ने, हरेक घरमा साबुनपानीले हात धुने बानीको विकास गराउने, पूर्ण सरसफाइ उन्मुख पालिका निर्माणका लागि वास समन्वय समिति, कार्यदल, आमा समूह र सरोकारवालाबीचको सम्बन्ध बलियो बनाउने समेत घोषणा पत्रमा उल्लेख छ ।

सार्वजनिक स्थल र संस्थाहरुमा लैंगिकमैत्री सुरक्षित खानेपानी तथा सरसफाइ सुविधा दिने, सामाजिक रुपमा देखिएका हानिकारक कुप्रथाको अन्त्य गर्न अभियान चलाउने,पानीको बहुपयोग प्रणालीलाई प्राथमिकतामा राखी योजना निर्माण गर्ने, करेसाबारी व्यवस्थापन तथा तरल फोहोरको व्यवस्थापन गरी सार्वजनिक स्थलमा वृक्षरोपणको काम गर्ने घोषणापत्रमा उल्लेख छ । पालिकाको विकास बजेटको कम्तीमा १० प्रतिशत वार्षिक रुपमा खानेपानी तथा सरसफाइका क्षेत्रमा लगाउने, गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐनको भावनालाई आत्मसाथ गर्दै सरसफाइ तथा स्वच्छता इकाइलाई स्थायी शाखाको रुपमा स्थापना गर्ने समेत उल्लेख छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully