सम्पन्न, व्यवहारिक र सीपमूलक शिक्षाको माग

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

Demand for comprehensive, practical and skillful education

सुर्खेत — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा ‘कर्णाली एजुकेसन एक्स्पो (सिजन वान)’ सम्पन्न भएको छ। एक्स्पोमा कर्णालीको समग्र शैक्षिक अवस्थामाथि बहुआयामिक छलफल र विचार–मन्थन गरिएको थियो ।

एक्स्पोमा मन्त्री, सचिव, विज्ञ, अन्तर्राष्ट्रिय तथा स्थानीय संघ–संस्थाका प्रतिनिधि गरी १३ जना प्यानलिस्टबीच विभिन्न सत्रमा गहन बहस गरिएको थियो । शैक्षिक सुधारका लागि शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा 'अब कर्णाली जाग्छः शिक्षामा पुनर्विचार, भविष्यको पुनर्निर्माण', 'व्यवहारिक, व्यवसायिक शिक्षा र नवप्रवर्तन', 'स्रोत, सीप र शिक्षा' लगायतका विषयमा केन्द्रित सत्रहरू सञ्चालन गरिएको थियो ।

एक्स्पोबाट सार्वजनिक गरिएको घोषणापत्रमा साक्षरता मात्र बढाउने शिक्षा प्रणालीले मुलुकको समग्र विकास सम्भव नहुने उल्लेख गरिएको छ। व्यावसायिक, व्यवहारिक र सीपमूलक शिक्षामा आधारित पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिइएको छ ।

घोषणापत्रमा कर्णालीमा अपाङ्गता भएका र सीमान्तकृत बालबालिकाको शिक्षाको पहुँच, शिक्षकको क्षमता विकास, बालमैत्री शैक्षिक पूर्वाधार, तथा उद्यमशीलता र नवप्रवर्तनमा आधारित शिक्षा प्रणाली विकासका विषयहरूमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

कर्णालीका विद्यालयहरूमा गुणस्तरीय शिक्षा अभाव, उच्च शिक्षामा पहुँचको कमी, र दक्ष जनशक्ति उत्पादन गर्न नसकेको अवस्था सुधार गर्न एक्स्पोले संघीय, प्रदेश तथा स्थानीय सरकारलाई नीतिगत परिवर्तन र ठोस कार्यक्रम ल्याउन माग गरेको छ ।

कर्णाली विकास केन्द्रद्वारा आयोजित यस एक्स्पोको निष्कर्षलाई सार्वजनिक छलफल र सरकारी नीतिमा समावेश गर्नुपर्नेमा समेत जोड दिइएको छ । आयोजकले कर्णालीको शैक्षिक भविष्य उज्यालो बनाउन एक्स्पोको निष्कर्षहरू कार्यान्वयन गर्न सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताएका छन् ।

वैशाख ३ गते सुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन भएको थियो । कर्णाली विकास केन्द्रको आयोजनामा सुरु भएको एक्स्पोमा विभिन्न क्षेत्रका विज्ञ, अभियन्ता, अभ्यासकर्ताको प्रस्तुति तथा सहभागीता रहेको थियो ।

कान्तिपुर

Link copied successfully