मौसमको पूर्वानुमानबारे जानकारी अब किसानको मोबाइलमा

अन्नबाली र तरकारी लगाउन र भित्र्याउन मौसमको अवस्था पछ्याउँदै किसान, विपद्का घटनाहरुमा सावधानी अपनाउन सहज  

वैशाख ७, २०८२

कृष्णप्रसाद गौतम

Information about the weather forecast now on the farmer's mobile

सुर्खेत — कालीकोटको नरहरिनाथ गाउँपालिका–९ स्थित समाज परिवर्तन कृषक समूहकी सदस्य अतिरुपा शाहीको मोबाइलमा हरेक ३/३ दिनमा मौसमको पूर्वानुमानसम्बन्धी एसएमएस आउँछ । उनकी छिमेकी तारा शाहीले पनि खेतीका कामहरु गर्दा एसएमएसमा आउने जानकारीलाई पछ्याउने गरेकी छिन् ।

‘गहुँ काट्ने तयारीमा थियौं, शुक्रबार र शनिबार पानी पर्ने पूर्वानुमानसहितको एसएमएस आयो,’ उनले भनिन्, ‘त्यसैले त्यो दिन घरको अरु काम गरेर गहुँ काट्ने दिन सोमबार पछिलाई सारियो ।’ उनी मखमली कृषक समूहमा आबद्ध छिन् । 

अहिले कालीकोटको नरहरिनाथ र जाजरकोटको शिवालय गाउँपालिकाका झण्डै ६ सय किसानसहित जनप्रतिनिधि, कर्मचारी र अगुवाहरुको मोबाइलमा ३/३ दिनको मौसम पूर्वानुमानबारेको सूचना आउने गरेको छ । मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त जानकारीलाई किसान र जनप्रतिनिधिको मोबाइलमा एसएमएस जाने व्यवस्था मिलाइएको हो ।

पालिकाका सबै वडा कार्यालय र विषयगत शाखाहरुका कार्यकक्ष बाहिर टाँगिएका सूचना पार्टी (बोर्ड)मा पनि त्यसबारे जानकारी दिन थालिएको छ । गाउँपालिकाले मौसमबारेको जानकारी आफ्नो बेवसाइटमा नियमित प्रकाशन गरिरहेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहराले बताए । 

Information about the weather forecast now on the farmer's mobile

मोबाइलमा एसएमएस आउन थालेपछि मौसमबारे जानकारी लिन रेडियो सुन्नुपर्ने बाध्यताको अन्त्य भएको नरहरिनाथ गाउँपालिका–९ चौथास्थित समाज परिवर्तन कृषक समूहकी अध्यक्ष कौशीला नेपालीले बताइन् । ‘५/६ महिना लगाएर फलाएको बाली भित्र्याउने समयमा मौसम प्रतिकूल हुँदा ठूलो नोक्सानी हुन्छ, बाली लगाउँदा पनि मौसम अनुकूल काम गर्न सजिलो भएको छ,’ उनले भनिन्, ‘मौसमबारे जानकारी पाएपछि बाढीपहिरो, चट्याङलगायत प्राकृतिक विपद्बाट बच्न सावधानी अपनाउन थालेका छौं ।’

किसानलाई बाली लगाउन र भित्र्याउन अनुकूल मौसमको आवश्यक पर्ने जाजरकोटको शिवालय गाउँपालिका–५ थालारैकरकी बिमला खत्रीले बताइन् । प्रविधिको विकाससॅगै मौसमबारे जानकारी लिन सहज भएको उनको भनाइ छ । ‘मौसम केही दिन सफा हुन्छ भन्ने म्यासेज आएपछि मात्र खेतबारीको काम गर्छौं,’ उनले भनिन्, ‘नत्र केही दिन कुर्छौं ।’ 

मौसमसम्बन्धी एसएमएसले किसानलाई खेतीका काम गर्न र प्राकृतिक प्रकोपबाट बच्न सजिलो भएको किसानलाई प्राविधिक सहयोग गरिरहेको सहयोगी हातहरुको समूह (सहास) नेपालकी जलवायु परिवर्तन अधिकृत संगिता पालले बताइन् । ‘मौसमबारेको जानकारीसॅगै किसानहरुको मोबाइलमा एसएमएसमार्फत हरेक ३ दिनको बजार मूल्यको सूचना पनि पठाइने गरिएको छ, जसले कृषि उत्पादनको बजारीकरणमा सहयोग गरिरहेको छ,’ उनले भनिन्, ‘बाली तथा तरकारीमा विभिन्न रोगकिराको नियन्त्रणका उपायबारे पनि किसानले एसएमएसमार्फत नै जानकारी पाउन थालेका छन् ।’ 

मौसममा आइरहेको परिवर्तनले जनजीवनसँगै कृषिमा गम्भीर असर पारिरहेको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले बताए । ‘जलवायु परिवर्तनका कारण समयमा पानी नपर्ने, गर्मी बढ्ने, पानीमा मूलहरु सुक्ने, बाढीपहिरो, खेतबारीमा मिचाहा प्रजातिहरु बढ्नेलगायत समस्या देखिएका छन्,’ उनले भने, ‘प्राकृतिक विपद्का दृष्टिले पनि पालिका जोखिमयुक्त छ, मौसमको पूर्वजानकारी आउन थालेपछि ती विपद्बाट बच्न सावधानी अपनाउन थालेका छौं ।’

Information about the weather forecast now on the farmer's mobile

तीन वर्षको अवधिमा बाढीपहिरो र चट्याङले पालिकामा १६ जनाको ज्यान गएको उनले जानकारी दिए । मौसमबारे जानकारी नहुँदा ३ वर्षअघि भित्र्याउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुगेको शिवालय गाउँपालिका–२ स्थित चन्द्रसूर्य कृषक समूहकी सदस्य नैनसरा रानाले बताइन् ।

‘काटिराखेको धान खेतमै पुरै कुहियो,’ उनले भनिन्, ‘एसएमएस आउन थालेपछि मौसम अनुकूल भए मात्र बाली भित्र्याउने र लगाउने काम गर्न थालेका छौं ।’ आफूहरुले चार वर्षदेखि तरकारी खेतीमा जलवायु परिवर्तन उत्थानशील विधि अपनाउन थालेको उनले बताइन् । २ वटा प्लाष्टिक टनेलमा विभिन्न तरकारी र च्याउ फलाइरहेकी छिन् । 

जसबाट मासिक २५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनको भनाइ छ । उनका अनुसार समूहमा आबद्ध सबै कृषकमा घरघरमा भकारो सुधार गरिएपछि खेतबारीमा हाइब्रिड बिउ र केमिकल फर्टिलाइजर औषधि प्रयोग गर्न छोडिएको छ । माटो शुद्धिकरणका लागि टाँडे नर्सरी, ‘हटबेड’, ‘सोलराइजेसन’ लगायत विधि अपनाउने गरेको उनले बताइन् । यी विधि प्रयोग गर्दा माटोको उर्वराशक्ति हावामा उडेर जाँदैन भने रोगकिराको प्रकोप कम हुन्छ । उनका अनुसार किसानले जैविक मुत्र प्रयोग गरी तरकारीबारीमा रोग किराको नियन्त्रण गर्ने गरिएको छ । 

बदलिँदो हावापानीले खेती प्रणालीलाई ठूलो असर परिरहेको सहास नेपालका वरिष्ठ जलवायु परिवर्तन अधिकृत हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार किसानले धान, गहुँ, मकै, कोदोलगायत बाली र तरकारी लगाउँदा र भित्र्याउँदा मौसमको जानकारी सहजै पाइरहेका छन् । जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख चन्द्रबहादुर शाहीले पछिल्लो समय किसानले मौसमको अवस्थालाई पछ्याउन थालेको बताए ।

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully