वीरेन्द्रनगर — कर्णालीका ७९ पालिकामध्ये तीनवटामा अझै स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छैन । डोल्पाको डोल्पो बुद्ध, छार्का ताङसोङ र शे फोक्सुण्डो गाउँपालिकामा बिमा कार्यक्रम लागू हुन सकेका छैनन् ।
सडक, बत्तीलगायतका सुविधा नपुगेको दुर्गम पालिका भएकोले कार्यक्रम लागू हुन ढिलो भएको स्वास्थ्य बिमा डोल्पाका जिल्ला संयोजक विनोश शाहले बताए । पालिका पुग्न ३ दिनजति पैदल हिँड्नपर्छ । हिउँदको समयमा हिँउको कारण बाटो पनि बन्द हुन्छ । उनले भने,‘स्वास्थ्य बिमाले पनि कर्मचारीको अभाव झेलिरहेको छ । सुरुमा स्वास्थ्यकर्मीलाई दर्ता अधिकारीको जिम्मा दिइएको थियो । गत वर्षबाट म आएको हो । अब कार्यान्वयनको लागि काम गरिरहेका छौं ।’ यो वर्ष कार्यक्रम लागू गर्ने योजनामा साथ काम गरिरहेको उनले बताए । पालिकामा काम गर्ने कर्मचारी पाउन पनि मुस्किल भएको उनको भनाइ छ ।
कर्णाली प्रदेश बिमा बोर्डका संयोजक महेशप्रसाद ठाकुरले सो ठाउँमा बिमा दर्ता कर्मचारी पनि छनोट गर्न नसकेकोजस्ता समस्याले बिमा कार्यक्रम लागू गर्न नसकिएको जानकारी दिए । यो वर्ष लागू गर्ने प्रयास जारी रहेको उल्लेख गरे ।
सरकारले २०७२ चैत २५ देखि लागू गरेको कार्यक्रम कर्णालीमा ०७४ भदौ १ देखि लागू भएको थियो । जुम्ला र रुकुम पश्चिमबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो । कर्णालीमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन कमजोर रहेको छ । कर्णालीमा लागू भएको ७ वर्षसम्म २५ प्रतिशतले मात्रै बिमा गरेका छन् । अझै ७५ प्रतिशत जनसंख्या बिमा बाहिर छन् । १६ लाख बढी जनसंख्या भएको कर्णालीमा ४ लाख ३१ हजार १ सय ७६ अर्थात् २५.५ प्रतिशतमात्रै बिमामा आबद्ध छन् ।
१ लाख ३५ हजार ७ सय महिला र १ लाख २८ हजार ६ सय ७९ जना पुरुषले बिमा गरेका छन् । बिमामा नागरिक आबद्ध हुन नसक्नु मुख्य कारणमा चेतनास्तर कमजोर हुनु र बिमा कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुनु भएको स्थानीय बताउँछन् ।
स्वास्थ्य बिमा गरेबापत सूचीकृत भएका स्वास्थ्य संस्थाहरुले भुक्तानी पाउन सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कर्णालीका अनुसार चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म २० करोड ६७ लाख ८४ हजार ६ सय ६७ रुपैयाँ मात्र भुक्तानी भएको छ । जसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेश अस्पतालले ७ करोड ४४ लाख ५६ हजार रुपैयाँ भुक्तानी दिएको छ ।
कर्णालीमा १ सय २७ वटा स्वास्थ्य संस्थाहरु रहे पनि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थाको संख्या ३६ वटा मात्र छन् । जसका कारण सेवा प्रदान ढिलो हुने गरेको छ ।
बजेट, जनशक्ति अभावले बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी हुन नसकेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । प्रदेश सरकारले दुर्गम स्थानका बासिन्दाहरुलाई सहज स्वास्थ्य सेवा दिन लागि प्रदेशभर १३ वटा रणनीतिक अस्पताल निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको र त्यसमार्फत पनि बिमा कार्यक्रम बढाउन सकिने बताए ।
