महिला स्वास्थ्य स्वयंसेवीको मागलाई बजेटमा सम्बोधन गरिनेछ : मन्त्री भण्डारी

वैशाख ४, २०८२

तृप्ति शाही

The demand of women health volunteers will be addressed in the budget: Minister Bhandari

वीरेन्द्रनगर — कर्णालीका सामाजिक विकासमन्त्री धनश्याम भभण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी)को मागलाई बजेटमा सम्बोधन गरिने बताएका छन् । सेवाको कदर हुनेगरी बजेट तथा कार्यक्रममा सम्बोधन गरिने प्रतिबद्धता जनाए ।

बिहीबार मन्त्री भण्डारीलाई माग तथा सुझाव पेस गर्न पुगेका नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)मा आवद्ध सुर्खेतस्थित स्वयंसेवीहरूसँग छलफल गर्दै नागरिकको स्वास्थ्य उपचार तथा प्रवर्द्धनमा स्वयंसेवीहरूको भूमिका उल्लेखनीय रहेको बताए ।

‘राज्यका निकायबाट कदर हुन नसकेको बारेमा म जानकार भएको छु,’ उनले भने,‘ त्यसका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मेरो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको छ । कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम् पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास छ ।’

मन्त्री भण्डारीले कर्णाली प्रदेशस्थित स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिईएको समेत जानकारी दिए ।

स्वयंसेवीहरुले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रतिवर्षको ३० हजारको दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत २० हजारबराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदनबापत सात हजार रूपैयाँ उपलब्ध गराउनुपर्नेलगायतका माग तथा सुझाव पेस गरेका छन् ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully