डोल्पा हुँदै पूर्वी रुकुम जोड्ने सडकको डीपीआर सुरु

वैशाख २, २०८२

रामचन्द्र न्यौपाने

DPR of East Rukum link road through Dolpa started

डोल्पा — डोल्पाको ठूलीभेरी नगरपालिकाको ताली गाउँ हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माणका लागि डीपीआर सुरु गरिएको छ ।

पहिलो चरणमा नगरपालिकाभित्र पर्ने ताली गाउँदेखि चिनाराङ्सी पाटनसम्म सडक निर्माणका लागि डीपीआरको काम सकिएको हो ।

‘नगरपालिकाको सिमानाभित्रैको करिब १० किलोमिटर सडकको डिपीआर सकिएको छ, अब चिनाराङ्सीदेखि डोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने ज्ञानेसम्म डीपीआर गर्न बाँकी हो, पहिलो चरणमै काम सक्ने योजना भए पनि बाक्लो हिउँ जमेकाले त्योभन्दा अघि बढ्न सकिएन,' नगरपालिकाका प्राविधिक पञ्च बुढाले भने ।

‘डोल्पा–पूर्वी रुकुम जोड्ने सडकको ८० प्रतिशत डीपीआरको काम सकिसकेको छ, अब २० प्रतिशत बाँकी हो, त्यो पनि हिउँ पग्लियो भने अर्को सातासम्म सम्पन्न हुन्छ,’ उनले भने । उनका अनुसार ज्ञानेभन्दा पारि पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको कुण्डला भन्ने ठाउँ पर्छ । त्यहाँबाट लाल पाटन, खारबाङ हुँदै रकुमकोट पुगिन्छ । 

यो सडक निर्माण भएमा सिधै मध्यपहाडी लोकमार्गसँग जोडिनेछ भने डोल्पा-काठमाडौं जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ ।

सडक निर्माणपश्चात् डोल्पाबाट पूर्वी रुकुम-बाग्लुङ-पर्वत-पोखरा हुँदै काठमाडौं एक दिनमै पुग्न सकिने ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढाले बताए । ‘नगरपालिकाको बजेटबाट डिपीआर गरेका छौं, काम सकिनेबित्तिकै प्रदेश र संघ सरकारसँग बजेटका लागि पहल गर्छौं, यो सडक निर्माणपछि डोल्पाबाट मध्यपहाडी लाकमार्गसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ,’ उनले भने ।

अहिले डोल्पालीहरु काठमाडौं जानका लागि पश्चिम रुकुम, जाजरकोट हुँदै घुमेर पुन: डोल्पाको सीमाक्षेत्र आसपास पुग्नुपर्छ । यो सडक निर्माणपश्चात् डोल्पाबाट सिधै रुकुम पूर्व पुग्न सकिने उनले बताए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully