बाघले बस्तीमा पसेर बाख्रा मार्न थालेपछि त्रासमा स्थानीय

वैशाख १, २०८२

विप्लव महर्जन

Locals in panic after tigers entered the slums and started killing goats

सल्यान — कालिमाटी गाउँपालिका–२ कालाखोलामा बाघले बस्तीमा पसेर दुई किसानका चार बाख्रा मारेको छ भने एउटा बाख्रालाई घाइते बनाएको छ । आइतबार राति घरसँगै सटेको गोठमा पसेर कालाखोलाका धामप्रसाद अधिकारी र कृष्णप्रसाद अधिकारीको घरसँगै जोडिएको गोठमा पसेर बाघले बाख्रा मारेको हो ।

बाघले धामप्रसाद अधिकारीका तीन बाख्रा मारेर खाएको, एउटालाई घाइते बनाएको र कृष्णप्रसाद अधिकारीको एउटा बाख्रा मारेर खाएको थियो । बस्तीमै छिरेर घरसँगै सटेको गोठमा पसी बाघले बाख्रा मारेर खाएपछि अहिले स्थानीय त्रसित भएका छन् । बाघको त्रासका कारण स्थानीय घरदेखि बाहिर जान सकेका छैनन् । बाघबाट पशुचौपायासँगै सर्वसाधारणको ज्यान बचाउन स्थानीयले सम्बन्धित निकायमा आग्रह गरेका छन् ।

बाँके राष्ट्रिय निकुन्जमा बाघको संख्या बढेपछि सिमानामा पर्ने कालिमाटी गाउँपालिकाको विभिन्न वडामा बाघले बेलाबेलामा पशुचौपाया मार्दै आएको कालिमाटी गाउँपालिका वडा नं २ का सदस्य अमरबहादुर ओलीले बताए । तीन महिनाअघि मात्र बाघले कालाखोलाकै एक स्थानीयका केही बाख्रा मारेर खाएको उनले जानकारी दिए । 

बाघ बस्तीमा पस्न थालेपछि रातविरातमा शौचका लागि बाहिर निस्कन र दिउँसो घरमा स–साना बालबालिकालाई एक्लै छाडन नसकिने अवस्था सृजना भएको टीका अधिकारीले बताइन् । बस्तीका सबै मिलेर चारैतिरबाट धपाउन खोजेपनि बाघले नभेटिएको र जंगलतिर गएको उनले बताइन् । अहिले गाईबाख्रा चराउन, घाँसदाउरा गर्न जंगल जान समेत डर भएको उनको भनाइ छ । 

जंगल नजिकै बस्ती भएकाले बस्तीमा बाघ पस्न थालेको र विगतमा बेलाबेलामा मान्छेलाई पनि आक्रमण गर्दै आएकाले पशुपालन गर्न पनि डर भएको स्थानीय लोकबहादुर केसीले बताए । निकुन्जको सीमा क्षेत्र खुला भएकाले जंगली जनावरले मान्छेलाई दुःख दिँदै आएकाले बसाईंसराई गर्दा कालिमाटी गाउँपालिका–७ घुइँयाबारीको जंगल नजिकका बस्ती खाली हुँदै जान थालेको उनले बताए ।    

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully