छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब-भत्ता पाएनन्

वैशाख १, २०८२

महेश केसी

Health workers on scholarship contracts have not received their salaries for 6 months

रुकुम पश्चिम — स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब–भत्ता नपाएको बताएका छन् । मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको पारिश्रमिक नपाएको भन्दै वैशाख ३ गतेसम्मको अल्टिमेटमसहित स्वास्थ्य सेवा कार्यालयमार्फत ध्यानाकर्षण गराएका छन् । 

आइतबार कार्यालय प्रमुखलाई सम्बोधन गरेर सामूहिक हस्ताक्षरसहित बुझाइएको पत्रमा वैशाख ३ सम्म तलब–भत्ता उपलब्ध नभएमा अस्पतालको आपत्‌कालीन बाहेकको सेवा बन्द गर्ने चेतावनीसमेत दिएका दिइएको छ ।

छात्रवृत्ति करारमा कार्यरतमध्येका एक डा. पराग जिसी सुवेदीले यसरी तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत ७, डेन्टल सर्जन २ र जनस्वास्थ्य अधिकृत ३ जना रहेको बताए । यसअघि यही कार्यालयमा काम गरेर बिदाइ भएका ३ मेडिकल अधिकृत र १ डेन्टल सर्जन गरी ४ जनाले पनि अहिलेसम्म तलब–भत्ता नपाएको उनको भनाइ छ ।

‘हामी निरन्तर काममा छौं । तर पाउनुपर्ने पारिश्रमिक नै नपाउँदा निकै कठिन भइरहेको छ । केही समय त जसोतसो दैनिकी चलायौं । अब भने गाह्रो हुन थाल्यो,’ सुवेदीले भने, ‘अति भएपछि कार्यालयमार्फत सम्बन्धित निकायमा दबाब दिन ३ गतेसम्मको अल्टिमेटमसहितको पत्र बुझाउन बाध्य भएका हौं ।’Health workers on scholarship contracts have not received their salaries for 6 months

स्वास्थ्य सेवा कार्यालय प्रमुख महेश चौलागाईंले नेपाल सरकार स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने गरेकामा कात्तिकदेखि उक्त बजेट नआएको बताए । 

‘हामीले यहाँबाट धेरैपल्ट पत्र नै लेखेर यस विषयमा प्रदेशमा अनुरोध गरेका छौं । बजेट माथिबाटै नआएको भन्ने जवाफ आइरहेको छ,’ चौलागाईंले भने, ‘हिजो कार्यालयमा अल्टिमेटमसहितको पत्र आएपछि हामी थप गम्भीर भएका छौं । भोलि कार्यालय समयमा थप बुझेर सरोकारवाला स्वास्थ्यकर्मीलाई जानकारी गराउनेछौं ।’

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully