पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध 

चैत्र ३१, २०८१

विप्लव महर्जन

Rapti highway blocked due to landslides

सल्यान — लगातारको वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग आज दिउँसो ३ बजेदेखि अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै केही स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्ग अवरुद्ध हुँदा दर्जनौं यात्रुबाहक गाडी र त्यसमा सवार यात्रु सडकमै अलपत्र परेका छन् । लामो समय सडक नखुल्दा कतिपय हिँडेर आउजाउ गर्न बाध्य छन् भने कतिपय गाडीमै बसिरहेका छन् । 

एक्स्काभेटर लगाएर पहिरो हटाउने प्रयास भए पनि माथिबाट ढुंगामाटो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले बताए । 

रात परेको र पहिरो खस्ने क्रम पूर्ण रूपले नरोकिएकाले यातायातका साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको उनले बताए । चोरखोला आसपासमा सडक स्तरोन्नति भइरहेको र सडकमा थुपारेको ढुंगामाटो, बालुवा र हिलोले यात्रुलाई सास्ती भएको छ ।

यस्तै, वर्षा र असिनाले कालिमाटी गाउँपालिका-७ घुइयाबारीमा किसानले लगाएको बालीमा क्षति पुगेको वडाध्यक्ष मित्रलाल रिजालले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully