प्रधानमन्त्री बन्ने चाहना भए पार्टी खोलेर प्रतिस्पर्धा गर्न पूर्वराजालाई नेपालको चुनौती

चैत्र ३०, २०८१

तुलाराम पाण्डे

Nepal's challenge to the former king to open a party and compete if he wants to become the prime minister

कालिकोट — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री बन्ने चाहना भए पार्टी खोलेर दलहरुसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।

पार्टीको १० औं जिल्ला अधिवेशन कालिकोटको रास्कोटमा उद्घाटन गर्दै नेपालले कोही मान्छे राजा आऊ देश बचाउ भनिरहेको प्रसंग उल्लेख गर्दै सबैले राजालाई चिनिसकेका बताए । 'राजाको प्रधानमन्त्री बन्ने  चाहना भए पार्टी खोलेर चुनाव लडे भइगो । वंशको शासन सम्भव छैन,' उनले भने ।

उनले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको लुटपाट, चोरी र आगजनीबाट राजतन्त्रको असली रूप जनताले देखिसकेको बताए । 'अबको बाटो उन्नत लोकतन्त्र र समाजवादी गणतन्त्रको हो,' उनले भने, 'राजालाई सबैले चिनेका छन्, गतिला भए पो राजा ।' 

रास्कोटको विकास र समृद्धिका लागि जनप्रतिनिधि सक्रिय भएकोमा खुसी व्यक्त गर्दै उनले जनताको सुविधाका लागि इलाका प्रशासन कार्यालय आवश्यक रहेको बताए । उनले जनतामा भएको निराशा चिर्न सरकारले उत्पादनमा जोड दिँदै रोजगारीमा वृद्धि गर्नु पर्ने पनि सुनाए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully