चार महिनादेखि तलबविहीन कर्णालीका डाक्टर

चैत्र ३०, २०८१

रामचन्द्र न्यौपाने

Karnali doctor without salary for four months

डोल्पा — कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत चिकित्सकहरुले नियुक्ति पाएको चार महिनासम्म पनि तलबभत्ता नपाएको पाइएको छ ।

सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेर हाल कर्णालीका जिल्ला अस्पताल, स्थानीय तहले सञ्चालन गरेका अस्पताल र स्वास्थ्य चौकीमा दरबन्दी करारमा कार्यरत चिकित्सकहरुले चार महिना बित्नलाग्दा पनि तलब भत्ता नपाएका हुन् ।

‘डोल्पामा दरबन्दी करारका दुई डाक्टरहरु छन्, नियुक्ति लिएदेखि उनीहरु निरन्तर सेवामा खटिरहेका छन्, तर एक महिना होइन चार/चार महिना बित्नलाग्दा पनि तलबभत्ता पाएका छैनन्,’ स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख डाक्टर सिजन रावलले भने ।

‘तलबभत्ता संघीय सरकारले पठाउने हो, हामीले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई संघीय सरकारसँग समन्वय गरिदिन लिखित तथा मौखिक रुपमा जानकारी गरायौं, बजेट नभएकाले तलब पठाउन नसकेको जवाफ आयो’ उनले थपे ।

आफूहरुले मात्र नपाएको हो कि अन्य जिल्लाका चिकित्सकहरुले पनि तलब पाएका छैनन् भनी बुझ्दा जाजरकोट, मुगु र हुम्ला लगायत कर्णालीका सबै जिल्लामा दरबन्दी करारमा कार्यरतहरुले तलब नपाएको डा रावलको भनाइ छ । 

‘सेवा सुविधाका हिसाबमा दुर्गममा डाक्टरहरुलाई काम गर्न दु:ख नै छ, दुर्गम रोजेर आएका डाक्टरले लामो समय तलब नपाउँदा उनीहरुको मनोबल कस्तो होला?’, उनले प्रश्न गरे ।

चर महिनासम्म तलबभत्ता नपाउँदा खर्च व्यवस्थापन गर्न समस्या परेको डाक्टरहरुको गुनासो छ । ‘हामी बिरामीको सेवामै व्यस्त हुन्छौं, तलबभत्ताका विषयमा कहाँ कसलाई के भन्ने थाह छैन्, चार महिना बित्न लाग्यो तलब भत्ता पाएका छैनौं’ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा कार्यरत डाक्टर तुलसी शाहले भनिन् ।

‘गत मंसिरमा एक महिनाको तलब आएको थियो, त्यसपछि पुसदेखि चैत्रसम्म तलब आएको छैन्, तलब आएन भनेर बिरामी जाँच्नै छोड्ने कुरा पनि भएन, खाली पेटमा पनि त काम गर्न सकिँदैन्,’ डाक्टर शाहले भनिन् ।

दुर्गममा काम गर्ने डाक्टरहरुलाई टिकाइराख्न महिना नमर्दै तलबभत्ता पठाउनु पर्नेमा यसरी महिनौंसम्म बिना तलब काम गर्नुपर्दा मनोबल कमजोर हुने उनको गुनासो छ । 

जतिसक्दो छिटो कर्णालीका विभिन्न अस्पतालमा दरबन्दी करारमा कार्यरत डाक्टरहरुको तलबभत्ता निकास गरिदिन संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई उनले आग्रह गरिन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully