हावाहुरीले सल्यानमा दुई विद्यालयसहित दर्जन बढी घरमा क्षति

चैत्र २८, २०८१

विप्लव महर्जन

The storm damaged more than a dozen houses, including two schools, in Salyan

सल्यान — बुधबार राति वर्षासँगै आएको हावाहुरीले सल्यानमा दुई विद्यालयसहित दर्जन बढी घरमा क्षति पुर्‍याएको छ ।

हावाहुरीले जिल्लाको शारदा नगरपालिका ८ मार्केस्थित त्रिजमावि र बन्गाड कुपिण्डे नगरपालिका ११ माझकाँडाको पाँचहारे स्थित नवज्योति आधारभूत विद्यालयको दुई/दुई कोठे भवनको छाना उडाएको र वर्षातका कारण भवनमा भएका सामग्रीसमेत भिजेर काम नलाग्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि बाबुराम बस्नेतले बताए ।

हावाहुरीकै कारण कालिमाटी गाउँपालिका २ मा पाँच, ७ मा चार, सिद्धकुमाखमा एक सर्वसाधारणको घर क्षति भएको प्रनि बस्नेतले जानकारी गराए । उनका अनुसार दुई विद्यालयको छाना हुरीले उडाउँदा तीन लाख बरारबको क्षति भएको छ भने सर्वसाधारणको घरको क्षतिको विवरण संकलन गरिएको छैन । 

पहिरो गएर राप्ती राजमार्ग र छिन्चु जाजरकोट सडक खण्ड राति १२ बजेदेखि अवरुद्ध भएकोमा बिहीबार बिहान १० बजेपछि सञ्चालनमा आएको प्रनि बस्नेतले जानकारी गराए । 

हुरीले ठाँउ–ठाँउमा पोल ढल्दा बन्गाड कुपिण्डे नगरपालिकामा विद्युत् सेवा अवरुद्ध भएको र कपुरकोटमा पोल ढल्दा अन्य पालिकामा पनि विद्युत् सेवा प्रभावित भएको विद्युत्त प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले बताए । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully