दुर्गमको शिविर : तीन दिनमा ५ हजारभन्दा बढीले लिए सेवा

चैत्र २८, २०८१

तुलाराम पाण्डे

The remote camp: More than 5,000 took service in three days

कालिकोट — दुर्गम गाउँमा आयोजित स्वास्थ्य शिविरमा बिरामीको भीड लागेको छ । यहाँको नरहरिनाथ आधारभूत अस्पतालमा आयोजित बृहत् स्वास्थ्य शिविरमा तीन दिनमा ५ हजार २ सय २२ जना बिरामीले उपचार पाएको अस्पताल प्रमुख डा. शिवनाथ यादवले जानकारी दिए ।

'यति धेरै बिरामी छन् भन्ने त हामीलाई लागेकै थिएन,' उनले भने, 'रोग लुकाएर बसेका धेरै रहेछन् । उनले आइतबारदेखि सुरु भएको ३ दिने विशेषज्ञ स्वास्थ्य शिविर बिरामीको चापले लम्बिएर बुधबार बिहानमात्र चिकित्सकको टोलीलाई बिदाइ गरिएको बताए । 

एक/एक पाइला फाउन्डेसनसँग समन्वयपछि नरहरिनाथ गाउँपालिकाको विकट बस्तीका नागरिकलाई पहिलो पटक ३२ जना विशेषज्ञ टोलीलाई स्वास्थ्य सेवा दिन सफल भएको पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । 'शिविर यति प्रभावकारी होला भनेर मैले पनि सोचेको थिइन्ँ,' उनले भने, 'काठमाडौंमा पाइने स्वास्थ्य सेवा गाउँमै पाउँदा नागरिक पनि खुशी छन् ।' 

उनले नरहरिनाथका बासिन्दाका लागि आगामी दिनमा पनि यस्तै खालका विशेषज्ञ स्वास्थ्य सेवा दिन गाउँपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता गरे ।

The remote camp: More than 5,000 took service in three days 

योगी नरहरिनाथ आधारभूत अस्पतालबाट प्राप्त जानकारीअनुसार अत्याधुनिक उपकरणसहित आएको विशेषज्ञ टोलीले १५ प्रकारका सेवा दिएको छ । शिविरमा ७ सय ९९ जनाको आँखा परीक्षण गरिएकोमा १ सय १ जनाको शल्यक्रिया गरिएको छ । ६ वर्षदेखि दुवै आँखा बन्द भएकी नरहरिनाथ-६ माल्कोटकी ६६ वर्षीया मना विश्वकर्माले ज्योति फर्किएकोमा खुशी हुँदै साँच्चिकै गाउँमा सरकार पुगेको महसुस भएको बताइन् । 

नरहरिनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीका अनुसार १ हजार ४ जनाले जनरल मेडिसिन सेवा पाएको शिविरमा ६ सय ५४ जनाले हाडजोर्नी रोग सेवा, ५ सय २४ जनाले नाक, कान, घाटी रोग सेवा पाएका छन् भने २३ जनाको कानको शल्यक्रिया भएको छ । 

त्यस्तै, २ सय ३९ ले दाता रोगको उपचार गराएको शिविरमा २ सय ५२ जनाको सामान्य अप्रेशन, ३ सय २९ ले छाला रोगको उपचार गरिएको छ भने २ सय २७ बालबालिका र ३ सय ६७ जना महिलाले स्त्री रोग सेवा पाए । 

त्यस्तै, २ सय ४७ जनाको भिडियो एक्स-रे, ८१ जनाको सादा एक्सरे, । ३ सय ४३ जनाको प्रयोग शाला परिक्षण, ३ जनाको इसिजी, १७ जनाको इन्डोस्कोपी गरिएको छ । 

महाबैमा ३ सय ४७ जनाको आँखा जाँच

यहाँको महाबै गाउँपालिकामा संचालित आँखा शिविरमा ४ सय ५३ जनाको आँखा जाँच भएको छ । आइ केयर फाउडेसन काठमाडौं र हिमालय आँखा अस्पताल पोखराको सहयोग र नेपाल नेत्रज्योति संघ कालीकोटअन्तर्गतको आँखा उपचार केन्द्र मान्मको सहयोगमा महाबैस्थित आधारभूत अस्पताल ओदामा पहिलो पटक आँखा शिविर संचालन भएको पालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । उनकाअनुसार शिविरमा ६७ जनाको शल्यक्रिया भएको छ । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully