पर्यटकको सुरक्षाका लागि पहिलोपटक ताल्चामा ‘पर्यटक प्रहरी चौकी’ स्थापना

चैत्र २६, २०८१

डीबी बुढा

For the safety of tourists, a 'Tourist Police Station' was established in Talcha for the first time

जुम्ला — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित रारा तालमा आउने पर्यटकहरुको सुरक्षाको लागि मुगुको ताल्चामा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना भएको छ । 

रारा ताल अवलोकन भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरुको सुरक्षाका लागि पर्यटक प्रहरी चौकी स्थापना भएको हो ।

सहायक प्रहरी निरीक्षक सञ्जुकुमार विश्वकर्माको कमाण्डमा ५ जना प्रहरी राखेर चौकी स्थापना भएको छ । ताल्चा विमानस्थल नजिकै रारा जाने बाटोमा पर्यटक प्रहरी चौकी स्थापना भएकोले पर्यटकहरुको सुरक्षादेखि आन्तरिक तथा बाहृय पर्यटकहरुको भ्रमण अवलोकन सुरक्षित हुने भएको हो ।

पर्यटक प्रहरी चौकीको उद्‌घाटन छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले गरेका थिए । उनले मुगुमा रारा लगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरु दिन प्रतिदिन बढिरहँदा सुरक्षा चुनौती देखिएको बताए । 

उनले भने, ‘अब पर्यटकको घुमाइ सुरक्षित र आनन्दमय बनाउन पर्यटक प्रहरीले योगदान पुर्‍याउनेछन् ।’ रारा तालमा पर्यटकको आगमन र सुरक्षा चुनौती पहिचान गरेर नगरकार्यपालिकाले पर्यटक प्रहरी चौकीको मागसहितका निर्णयहरु संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाएको थियो । 

सोही अनुसार पर्यटक प्रहरीको व्यवस्था भएको नगरप्रमुख भामको भनाइ छ । उनका अनुसार केही समयपछि रारा सल्लेरीमासमेत पर्यटक प्रहरी पोष्ट स्थापना गर्ने तयारी थालिएको छ ।

जसका लागि भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइसकेको छ । प्रमुख भामले भने, ‘वन मन्त्रालयबाट जग्गा प्राप्ति हुने वित्तिकै भौतिक संरचना निर्माणको काम अघि बढ्छ । अनि पर्यटक प्रहरी पोष्ट बन्छ ।’

मुगु प्रहरी प्रमुख डिएसपी सरोज गिरीले रारा क्षेत्रमा घुम्न आउने पर्यटकहरु निर्धक्कपूर्वक घुम्न पाउने बताए । देभर २९ वटा पर्यटक प्रहरी चौकी रहेकोमा कर्णालीमा पहिलो पर्यटक प्रहरी चौकीका रुपमा मुगुको ताल्चामा स्थापना गरिएको हो । ‘अहिलेसम्म कुनै पनि पर्यटकले असुरक्षित महसुस भएको गुनासो आइपुगेको छैन । आगामी दिनमा भन्न सकिने अवस्था पनि छैन,’ डिएसपी गिरीले भने,‘पर्यटक प्रहरी पर्यटकको अवस्था, पिरमर्का र पर्यटकहरु माथि हुने हिंसा निवारणमा साथ दिनेछ ।’ 

चौकीले विशेष गरेर विदेशी पर्यटकहरुको निगरानी राख्ने उनको भनाइ छ । पर्यटकहरु माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर घुमाइ लम्ब्याउने वातावरण बनाउने, अपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरुलाई गाइड गर्नेसम्मको काम पर्यटक प्रहरीले गर्नेछ । 

पर्यटक प्रहरी चौकीका प्रमुख सहायक प्रहरी निरीक्षक सञ्जुकमार विश्वकर्माले रारा घुम्ने पर्यटकले असुरक्षित महशुस गर्नुपर्ने दिनको अन्त्य भएको बताए । उनले पर्यटकलाई समस्या हुने वित्तिकै चौकीको सम्पर्कमा आइहाल्न समेत आग्रह गरे । 

छायाानाथ रारा नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, बिजुलीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने देखिएको छ । ‘मुगुमा रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थलहरु, हिमाल, गुफा रहेका छन्,’ नगरप्रमुख भामले भने, ‘जंगलहरुका बीचमा रहेका यी स्थानहरुमा पर्टकहरु एक्लै घुम्न डराउने गर्छन् । अब पर्यटक प्रहरीले सुरक्षाको प्रवन्ध गराएर पर्यटकलाई स्वतन्त्र रुपमा घुम्ने वातावरण बनाउनेछन् ।’

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully